arrow

समानुपातिकतर्फ अब केही मतगणना मात्रै बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
election-falgun2102082-1.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अब अन्तिम बिन्दुमा पुगेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार देशभरबाट कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भइसकेको छ र अब केही सीमित क्षेत्रको मात्र नतिजा आउन बाँकी छ।

यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ऐतिहासिक सफलता हासिल गरेको छ। रास्वपाले समानुपातिकतर्फ मात्रै ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेर संसद्को पहिलो दल बनेको रास्वपाले समानुपातिकको यो नतिजासँगै संसद्मा आफ्नो शक्ति झनै मजबुत बनाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १४ लाख ४ हजार ३१ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ। यस्तै, चौथो स्थानमा रहेको नेकपाले ८ लाख ३ हजार ६२७ मत ल्याएको छ।

नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ७ हजार ५७ मत प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा सुखद उपस्थिति जनाएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४५७ मत ल्याएर 'थ्रेसहोल्ड' कटाउँदै छैटौँ स्थान सुरक्षित गरेको छ।

यसअघि राष्ट्रिय राजनीतिमा निर्णायक मानिएका मधेसवादी दलहरूका लागि यो निर्वाचन निराशाजनक देखिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३०६ मत र जनमत पार्टीले केवल ७ हजार ९४९ मत प्राप्त गरेका छन्। जनमत पार्टीभन्दा अघि राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत ल्याएको छ।

सबै क्षेत्रको मतगणना सकिएलगत्तै निर्वाचन आयोगले प्राप्त मतका आधारमा दलहरूले पाउने ११० सिटको बाँडफाँड गर्ने प्रक्रिया सुरु गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ