जेन-जी आन्दोलनका घाइते वर्गीकरणका लागि प्रशासनको अन्तिम मौका
चैत २० गते उपस्थित हुन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
605
Shares
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले 'जेनजी' आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरणका लागि अन्तिम पटक उपस्थित हुन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार यसअघि विभिन्न मितिमा छुट भएका घाइतेहरूको वर्गीकरण यही चैत २० गते शुक्रबार गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको 'वर्गीकरण सहजीकरण समिति' ले यसअघि गत मंसिर ५, १२ र १८ गते अधिकांश घाइतेहरूको वर्गीकरण कार्य सम्पन्न गरिसकेको छ। तर, विविध कारणले ती दिनहरूमा उपस्थित हुन नसकेका घाइतेहरूका लागि यो अन्तिम अवसर प्रदान गरिएको प्रशासनले जनाएको छ।
वर्गीकरणका लागि छुट भएका घाइतेहरूले आगामी शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा उपस्थित हुँदा आफूले उपचार एवं स्वास्थ्य परीक्षण गराएका आधिकारिक कागजातहरू र जेनजी घाइते परिचयपत्र साथमा लिनुपर्नेछ ।
सरकारले 'जेनजी प्रदर्शनका घाइतेको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२' बमोजिम घाइतेहरूको अवस्था हेरी उपचार खर्च र अन्य सुविधा उपलब्ध गराउने तयारी गरिरहेको बताइएको छ। तोकिएको मितिमा उपस्थित नहुनेहरूका हकमा पछि पुनः वर्गीकरणको व्यवस्था नहुन सक्ने तर्फ समेत प्रशासनले सचेत गराएको छ।