arrow

लघुवित्तमा बढ्दो निष्क्रिय कर्जा चुनौती, उत्पादन र उद्यमशीलतामा जोड दिन आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
laghjubitta-sammelan-ktm.jpg

काठमाडौँ । ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आइतबारदेखि राजधानीमा शुरू भएको छ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले लघुवित्त संस्थाहरूले गरिबी निवारण, महिला सशक्तिकरण र वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान दिएको बताए।

उनका अनुसार लघुवित्तमार्फत महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ। पछिल्लो समय नेपालमा गरिबी दर घट्दै गएको उल्लेख गर्दै उनले त्यसमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताए।

तर, लघुवित्त संस्थाहरूले गरिबीको मात्रा बढी भएका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले हाल शहरी क्षेत्रमा केन्द्रित हुने र बहुबैंकिङ प्रवृत्ति बढ्दो रहेको बताए। यसले लक्षित वर्गसम्म सेवा पुग्न चुनौती थपिएको उनको भनाइ छ।

उपाध्यक्ष श्रेष्ठले लघुवित्त क्षेत्रमा पछिल्लो समय समस्या पनि बढ्दै गएको उल्लेख गरे। निष्क्रिय कर्जा (एनपीएल) बढ्दै जानु, कर्जा असुलीमा कठिनाइ हुनु र सदस्यहरू नै आर्थिक समस्यामा पर्नु प्रमुख चुनौतीका रूपमा देखिएको उनले बताए।

कोभिड-१९ पछि अर्थतन्त्र पूर्ण रूपमा सुधार हुन नसक्दा यसको असर लघुवित्त क्षेत्रमा समेत परेको उनको धारणा छ।

उनले अन्तर्राष्ट्रिय परिस्थितिले पनि नेपालको अर्थतन्त्रमा दबाब सिर्जना गरेको बताए। रसिया-युक्रेन युद्धले मूल्यवृद्धि र विदेशी मुद्रा सञ्चितिमा असर पारेको स्मरण गर्दै उनले हाल पश्चिम एशियामा जारी द्वन्द्वको प्रभाव पनि देखिन थालेको बताए। साथै आन्तरिक राजनीतिक अस्थिरताले पनि अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको उनको भनाइ छ।

श्रेष्ठले लघुवित्त संस्थाहरूले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने बताए।

वित्तीय पहुँच विस्तारसँगै किसानका उत्पादनको बजारीकरणमा समेत लघुवित्त संस्थाहरूले भूमिका खेल्नुपर्ने उनको जोड छ।

किसानले उत्पादन गरेको वस्तुले उचित बजार नपाएको गुनासो बढिरहेको भन्दै उनले आन्तरिक उत्पादनको उपयोग बढाउन र सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले पनि लघुवित्त क्षेत्रमा देखिएका समस्याबारे धारणा राख्दै ग्राहक र संस्थाहरू दुवै समस्यामा परेकाले एनपीएल बढेको बताए।

आवश्यक नभएका व्यक्तिलाई कर्जा प्रवाह गर्दा खराब कर्जा बढेको उनको भनाइ छ।

पौडेलले लघुवित्त क्षेत्र मुलुकका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै यसका करिब २७-२८ लाख सेवाग्राहीले यसको महत्व झल्काउने बताए।

वाणिज्य बैंकबाट ठूलो मात्रामा ऋण लिएका कारण लघुवित्त संस्थाहरूलाई थप जिम्मेवार र अनुशासित हुनुपर्ने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ