सांसदहरूको शपथमा हौसियो सिंहदरबार, मौलिक पोशाकले ल्यायो रौनक [४१ तस्बिरमा]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
739
Shares
तस्बिर – सांसदहरूको सामूहिक शपथ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउदेश्यीय सभा हलमा उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथ गराए ।
संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार ६१ सांसदले मातृभाषामा शपथ लिएका छन् । उनीहरूले आफ्नो मौलिक पहिरणमा सजिएर शपथ लिएका हुन् । सचिवालयले गरेको आग्रहअनुसार अधिकांश सांसदहरू मौलिक पहिरनमा देखिए ।
सिहंदरबारमा सांसदहरू आपसमा तस्बिर खिच्नसमेत व्यस्त देखिए । अधिकांशले पहिलो पटक संसद भवन टेकेकाले उनीहरूमा उत्साह बेग्लै थियो । सांसदहरू मौलिक पहिरनले सिंहदरबार पनि हौसिएको जस्तो देखिन्थ्यो । राष्ट्रिय गानको भाव झल्किन्थ्यो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । बिहीबार उनले बाँकी २७४ जनालाई शपथ खुवाएका हुन् ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।