arrow

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
uml-karnali-andolan.jpg

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको छ ।

आफ्ना अध्यक्ष ओलीलाई तत्काल रिहाईको माग गर्दै एमालेले प्रदर्शन गरेको हो। सुर्खेत, जुम्ला, कालिकोट, दैलेखलगायतका जिल्लामा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

जुम्लामा एमालेले राँके जुलुससमेत निकालेको छ । सबै जिल्लाका एमाले नेताहरुले सरकारले जवरजस्ती मुलुकलाई मुडभेडमा लिने खोजेको आरोप लगाएका छन् ।

उनीहरूले तत्काल अध्यक्ष ओलीलाई रिहा नगरे देशव्यापी आन्दोलनको चेताबनीसमेत दिएका छन् । एमालेले जिल्ला जिल्लामा प्रदर्शन गर्न थालेपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीमा सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश मातहतका सबै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्कताका साथ बस्न सर्कुलर भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले बताए ।

जिल्लामा प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको र सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको उनले बताए ।

कुनै पनि स्थानमा अप्रत्याशित घटना हुन नदिन र भईहाले पनि तुरुन्त नियन्त्रण गर्न सकियोस् भनेर सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको उनले बताए ।

आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्थापन सुदृढ गरिएको उनको भनाइ छ ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजधानी काठमाडौँमा विरोध प्रदर्शन भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ