arrow

मध्यपूर्वमा सैन्य मुठभेड अझै चर्किने संकेत

इरानले गर्‍यो अमेरिकाको युद्धविराम प्रस्ताव अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
usa-iran-flag.jpg

काठमाडौँ ।  इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेको छ। सरकारी समाचार एजेन्सी फर्सका अनुसार वाशिङटनले बिहीबार एक ‘मैत्रीपूर्ण’ देशमार्फत यो प्रस्ताव पठाएको थियो, तर इरानले यसको कुनै औपचारिक लिखित जवाफ नदिई युद्धभूमिमा आक्रमण जारी राखेर आफ्नो कडा असहमति प्रकट गरेको छ। 

कुवेतको बुबियान टापुमा रहेको अमेरिकी सैन्य गोदाममा इरानले गरेको सफल आक्रमणपछि अमेरिकाले आफ्नो सैन्य गतिविधिमा उत्पन्न चुनौतीलाई मध्यनजर गर्दै कूटनीतिक प्रयास तीव्र पारेको थियो। फर्सको मूल्याङ्कनमा अमेरिकी–इजरायली आक्रमण र बढ्दो क्षेत्रीय संकटका बीच अमेरिकाले इरानको सैन्य क्षमताको गलत अनुमान गर्दा आफ्नै सेनाका लागि गम्भीर समस्या सिर्जना गरेको उल्लेख गरिएको छ।

यस द्वन्द्वको मुख्य पृष्ठभूमि गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरान लगायतका प्रमुख इरानी शहरहरूमा गरेको भीषण आक्रमणसँग जोडिएको छ। उक्त आक्रमणमा तत्कालीन इरानी सर्वोच्च नेता अली खामेनेईसहित वरिष्ठ सैन्य कमाण्डर र केही नागरिकको मृत्यु भएपछि इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणको शृङ्खला सुरु गरेको थियो। 

इरानको पछिल्लो अडान र युद्धविरामप्रतिको अनिच्छाले इरान–अमेरिका–इजरायल बीचको सम्बन्धलाई थप जटिल बनाएको छ भने आगामी दिनमा मध्यपूर्वमा अझै ठूला सैन्य र राजनीतिक मुठभेडहरू हुन सक्ने खतरा बढेको छ। इरानको यो सशक्त र निर्णायक सैन्य प्रतिक्रियाले अमेरिकाको कूटनीतिक प्रयासलाई विफल तुल्याउँदै युद्धको नयाँ दिशा तय गरेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ