arrow

सभामुख रास्वपालाई, उपसभामुख कसलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
rabi-prachanda-harka-gyanbahadur.jpg.jpeg

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पद सुरक्षित गरेको छ । प्रतिनिधि सभामा झण्डै दुई तिहाई सिट हासिल गरेको रास्वपाले निर्विवाद रूपले सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई ल्याउन सफल भएको छ । 

अर्यालको एकल उम्मेदवारी परेसँगै उनी मतदानअघि नै निर्वाचित हुने निश्चित भएको हो । आइतबारको निर्वाचन प्रक्रिया केवल औपचारिकतामा सीमित भएको छ । 

यो रास्वपाका लागि सबैभन्दा ठूलो जित हो । विपक्षमा रहेका बाँकी सबै दल मिलेरसमेत पनि कुनै असर पार्न नसक्ने भएसँगै सभामुखमा उम्मेदवारी दिएर लोकतान्त्रिक प्रक्रियामासमेत सहभागी भएनन् । 

संसदमा रास्वपाको १८२ सिट रहेको छ । दोस्रो ठूलो दल नेपाली कांग्रेसको ३८, नेकपा एमालेको २५, नेपाली कम्युनिस्ट पार्टीको १७,  श्रम संस्कृति पार्टीको सात र राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच सिट छ । एक सिट स्वतन्त्रबाट महावीर पुनले जितेका छन् । उनले आफू न सत्ता न इतर बरु तटस्थ भनिसकेका छन् । 

उपसभामुखमा रस्साकस्सी 
संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । यो धाराको उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ । 

यही उपधारामै भनिएको छ कि प्रतिनिधि सभामा एक भन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भन्ने उल्लेख छ । 

यसरी हेर्दा रास्वपाले उपसभामुख पनि आफ्नै दलको हुने भनी साना दललाई भनेको खण्डमा चुप लाग्नुपर्ने अवस्था छ । किनकि रास्वपाको सहमति बिना उनीहरुले जित्ने अवस्था नै छैन ।

रास्वपा सभापति रवि लामिछानेले संविधानको भावना र संसदीय अभ्यासअनुसार उपसभामुख चयन प्रक्रिया अघि बढ्ने बताएसँगै साना विपक्षी दलहरू यतातर्फ लालायित भएका हुन् । 

अहिलेको परिवर्तन हेर्दा कांग्रेस र एमालेले उम्मेदवार खडा गरेर समासा देखाउने अवस्था छैन । जनादेश नै नभएसँगै कांग्रेस र एमालेले त्यो दाबी नदिने बुझ्न सकिन्छ । त्यस्तै रास्वपाले नै कांग्रेस एमालेलाई समर्थन नगर्ने स्पष्टै छ । विपक्षका दुई ठूला दल होडबाट पछि हटेसँगै बाँकी तीन दलबीच रस्साकस्सी देखिन्छ । 

रास्वपाले नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राप्रपाले उपसभामुखका लागि पार्टीसँग परामर्श थालेको जनाएको छ । चाहँदासमेत पनि कांग्रेस र एमालेले उपसभामुख नपाउने भएसँगै त्यो पहलसमेत नगरेको स्रोत बताउँछ । 

रास्वपा सभापति रवि लामिछाने र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको बताइएको छ । नेकपाले उपसभामुखमा चासो राखेको छ । त्यसो त चासो राख्नेमा राप्रपा र श्रम संस्कृति पनि छन् । 

लामिछानेले शनिबार राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीसँग छलफल गरेका छन् भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले शनिबार नै सामाजिक सञ्जालमा उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने उल्लेख गरेका छन् । 

बिहीबारको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेनसँग हिँड्दा हिँड्दै सौहार्दपूर्ण छलफल भएसँगै हर्क पनि उपसभामुखका लागि आशावादी देखिएका छन् । उनीसँग बिहीबारै पनि छुट्टै कुराकानी भएको बताइन्छ । 

प्रचण्ड बढी नै नजिक भएका कारणले पनि नेकपाले उपसभामुख पाउन सक्ने अड्कल भइरहेको छ । जनादेशअनुसार भने मतदाताले चुनावअघिका तीन ठूला दललाई नै नरुचाएकाले प्रचण्डको नेकपाले त्यो हक गुमाएको दाबीसमेत भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ