दाङ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका चार सयभन्दा बढी प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयलका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत्र दोस्रो सातासम्म चार सय १४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले थालेको फरार प्रतिवादी पक्राउ अभियान थालेको जनाउँदै उनले सो अभियानअन्तर्गत विभिन्न समयमा मुद्दा फैसलाभई फरार रहेका प्रतिवादी खोज्न थालेको बताए ।
मुद्दा फैसला भई फरार रहेका निजहरूलाई अदालतबाट रु एक करोड २५ लाख १२ हजार ६१७ जरिवाना र १६५ वर्ष आठ महिना चार दिन कैद सजाय तोकिएको पनि प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यन्वयनका लागि प्रहरीले जिल्ला अदालत घोराहीमा पेस गरिएको जनाएको छ ।
दाङ प्रहरीले उपलब्ध गराएको विवरण अनुसार साउनमा २७ जना फरार प्रतिवादी पक्राउ गरिँदा रु २६ लाख १२ हजार ८२८ जरिवान र २३ वर्ष सात महिना १५ दिन कैद सजाय तोकिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।
भदौमा ३५, असोजमा ५७, कात्तिकमा ३७, मङ्सिरमा ७३, पुसमा ८६, माघमा ५६, फागुनमा २९ र चैतको दोस्रो सातासम्म १४ जना फरार प्रतिवादी पक्राउ परेका उनले बताए ।
प्रहरी प्रमुख श्रेष्ठका अनुसार साउनदेखि चैत्र दोस्रो सातासम्म चार सय १४ जना फरार प्रतिवादीलाई पक्राउ गरी रु एक करोड २५ लाख १२ हजार ६१७ जरिबाना र १६५ वर्ष आठ महिना चार दिन कैद सजाय तोकिएको छ ।
अन्य फरार प्रतिवादीलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई आगामी दिनमा थप तीव्र बनाउँदै लैजाने उनले बताए ।