arrow

भाइरसमुक्त नभएसम्म विकास हुँदैन: महावीर पुन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
mahabir-pun-25-12.jpg

काठमाडौँ । सांसद महावीर पुनले नेपालको आर्थिक रूपान्तरणका लागि विज्ञान र प्रविधिमा आधारित नीतिलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। उनले अनुसन्धान तथा नवप्रवर्द्धनलाई प्रभावकारी बनाउन छुट्टै बलियो मन्त्रालय स्थापना गर्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा पुनले परम्परागत आर्थिक सोचले मात्र देशको समृद्धि सम्भव नहुने उल्लेख गरे। उनका अनुसार दीर्घकालीन विकासका लागि विज्ञान-प्रविधिमा आधारित अनुसन्धान र नवप्रवर्द्धन अपरिहार्य छन्।

उनले भने, “अर्थतन्त्रको विकास गर्न विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अनुसन्धान र नवप्रवर्द्धनका लागि कोष खडा गर्नुपर्छ र त्यसलाई अघि बढाउने बलियो मन्त्रालय आवश्यक छ।”

पुनले नेपालमा विज्ञान र प्रविधिको वास्तविक अर्थ र यसको प्रयोगबारे अझै स्पष्ट बुझाइको अभाव रहेको औंल्याए। आवश्यक परे सदनमै विस्तृत व्याख्या गर्न आफू तयार रहेको उनको भनाइ थियो।

उनले देशको विकासमा अवरोधका रूपमा रहेको नातावाद, कृपावाद, चाकडीवाद र चापलुसी प्रवृत्तिलाई ‘भाइरस’को संज्ञा दिँदै यस्तो प्रवृत्तिबाट मुक्त नभएसम्म कुनै पनि सुधार दिगो नहुने चेतावनी दिए।

इतिहासतर्फ संकेत गर्दै पुनले रणबहादुर शाहको शासनकालदेखि नै दरबारमा नातावाद र चाकडीवाद मौलाएको उल्लेख गरे।

उनले राजनीतिक परिवर्तनका महत्वपूर्ण चरणहरू-२००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६३ सालको जनआन्दोलन-पछि पनि यस्तो प्रवृत्ति पूर्ण रूपमा अन्त्य हुन नसकेको बताए।

पुनले नयाँ सरकार र संसद् सदस्यहरूलाई पारदर्शिता, योग्यता र नवप्रवर्द्धनमा आधारित प्रणाली विकास गर्न आग्रह गरे।

“आफ्नो आफन्तलाई पदमा नियुक्त गरिएको खबर सुन्न नपरोस्,” उनले जोड दिए।

उनका अनुसार वैज्ञानिक सोच र नवप्रवर्द्धनलाई प्राथमिकतामा राख्न सके मात्रै नेपालको अर्थतन्त्र दिगो रूपमा सबल बन्नेछ र विकासले नयाँ गति लिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ