उपसभामुखको निर्वाचन हुँदै, रुवी र सरस्वती मैदानमा, साँझ ६ बजे शपथ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
730
Shares
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख अपरान्ह ४ बजे बस्ने बैठकले चयन गर्ने भएको छ । संसद सचिवालयका अनुसार ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सम्बोधनपछि बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ ।
श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा उम्मेदवार रहेका छन् ।
करिब दुई तिहाई सिटसहित पहिलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको साथ पाएपछि श्रम संस्कृतिले रुवीलाई अगाडि सारेको बताइएको छ ।
यता राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपा सभापति रवि लामिछानेले साथ दिने भनेपछि आफूहरूले सरस्वतीलाई अगाडि सारेको बताएका छन् ।
यसअघि उपसभामुखमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले इच्छा राखेको भए पनि रास्वपाको साथ नपाउने संकेतसँगै नेकपाले उम्मेदवारी दिएन ।
संसदको सबैभन्दा ठूलो दल रास्वपाले सभामुख पद पाउँदा उपसभामुख संस्कृति वा राप्रपाले पाउने भएको हो ।
संसदमा रास्वपाको १८२ सिट रहेको छ । दोस्रो ठूलो दल नेपाली कांग्रेसको ३८, नेकपा एमालेको २५, नेपाली कम्युनिस्ट पार्टीको १७, श्रम संस्कृति पार्टीको सात र राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच सिट छ । एक सिट स्वतन्त्रबाट महावीर पुनले जितेका छन् । उनले आफू न सत्ता न इतर बरु तटस्थ भनिसकेका छन् ।
संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । यो धाराको उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।
यही उपधारामै भनिएको छ कि प्रतिनिधि सभामा एक भन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भन्ने उल्लेख छ ।
रास्वपा सभापति रवि लामिछानेले संविधानको भावना र संसदीय अभ्यासअनुसार उपसभामुख चयन प्रक्रिया अघि बढ्ने बताएर विपक्षी दलहरूलाई हौस्याएका भए पनि कांग्रेस र एमालेले उम्मेदवार खडा गर्ने चाहना नै राखेनन् ।
विपक्षका दुई ठूला दल होडबाट पछि हटेसँगै बाँकी तीन दलबीच रस्साकस्सी देखिएको भए पनि पुराना दलको ट्यागमा परेसँगै नेकपा पनि पछि हट्यो । अहिलेको तन्त्रसँग नमिल्ने मुद्धा बोकेको राप्रपा आशासहित मैदानमा उत्रिएको छ । राप्रपा पनि पुरानै दल भएकाले रास्वपा र संस्कृतिबीच नै तालमेल मिल्ने लगभग पक्का छ ।
यसअघि रास्वपाले तीन ओटै दलसँग परामर्श गरेको थियो ।
निर्वाचित उपसभामुखले आजै साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।