arrow

प्रतिनिधि सभा बैठक जारी, उपसभामुखको निर्वाचन हुँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा उपसभामुखको चयन हुँदैछ । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का भएको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुवीलाई मतदान गर्ने निर्णय गरेसँगै रुवी उपसभामुख बन्ने पक्का भएको हो । 

दिउँसो सिंहदबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले रुवीलाई मतदान गर्ने निर्णय पारित गरेको थियो । रुवीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा उम्मेदवार रहेका छन् । 

करिब दुई तिहाई सिटसहित पहिलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको साथ पाएपछि श्रम संस्कृतिले रुवीलाई अगाडि सारेको हो । यता राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपा सभापति रवि लामिछानेले साथ दिने भनेपछि आफूहरूले सरस्वतीलाई अगाडि सारेको भए पनि धोका भएको प्रतिक्रिया दिएका छन् । 

यसअघि उपसभामुखमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले इच्छा राखेको भए पनि रास्वपाको साथ नपाउने संकेतसँगै नेकपाले उम्मेदवारी दिएन । रास्वपाले सभामुख पद पाउँदा उपसभामुख संस्कृति वा राप्रपाले पाउने भएको हो । 

संसदमा रास्वपाको १८२ सिट रहेको छ । दोस्रो ठूलो दल नेपाली कांग्रेसको ३८, नेकपा एमालेको २५, नेपाली कम्युनिस्ट पार्टीको १७,  श्रम संस्कृति पार्टीको सात र राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच सिट छ । एक सिट स्वतन्त्रबाट महावीर पुनले जितेका छन् । उनले आफू न सत्ता न इतर बरु तटस्थ भनिसकेका छन् । 

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । यो धाराको उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ । 

यही उपधारामै भनिएको छ कि प्रतिनिधि सभामा एक भन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भन्ने उल्लेख छ । 

यसअघि रास्वपा सभापति रवि लामिछानेले संविधानको भावना र संसदीय अभ्यासअनुसार उपसभामुख चयन प्रक्रिया अघि बढ्ने बताएर विपक्षी दलहरूलाई हौस्याएका भए पनि कांग्रेस र एमालेले उम्मेदवार खडा गर्ने चाहना नै राखेनन् । 

विपक्षका दुई ठूला दल होडबाट पछि हटेसँगै बाँकी तीन दलबीच रस्साकस्सी देखिएको भए पनि पुराना दलको ट्यागमा परेसँगै नेकपा पनि पछि हट्यो । अहिलेको तन्त्रसँग नमिल्ने मुद्धा बोकेको राप्रपा आशासहित मैदानमा उत्रिएको भए पनि अन्तिम समयमा धोका पाएको हो । राप्रपा पनि पुरानै दल हो । 

रास्वपा र संस्कृति नै अहिलेको चाहनाअनुसार तालमेलमा लागेका हुन् । यसअघि रास्वपाले तीन ओटै दलसँग परामर्श गरेको थियो । 

निर्वाचित उपसभामुखले आजै साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ