arrow

स्वास्थ्यकर्मीलाई पनि दुई दिने बिदा अनिवार्य छ, विभेद गरिए आन्दोलनमा जान्छौँ: डा. रिजाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
badri-rijal-12-.jpg

काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले गरेको हप्तामा दुई दिन बिदा दिने निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा दिन माग गरेको छ। राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता एवं अर्थोपेडिक सर्जन प्राध्यापक डा. बद्री रिजालले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्य र 'बर्नआउट' (अत्यधिक थकान) को समस्यालाई समाधान गर्न दुई दिने बिदा अनिवार्य रहेको बताएका छन्।

सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। यसप्रति आपत्ति जनाउँदै डा. रिजालले सरकारको निर्णय सबै कर्मचारीका लागि समान हुनुपर्ने बताए। "अस्पतालै पिच्छे बिदा र समयको फरक नियमले अन्योल बढाएको छ," उनले भने, "असुरक्षित वातावरण र न्यून सुविधाका बीच काम गरिरहेका चिकित्सकहरूलाई थप आतङ्कित बनाइए हामी आन्दोलनमा जान बाध्य हुनेछौँ।"

राज्यले अप्ठ्यारो पर्दा स्वास्थ्यलाई 'अत्यावश्यक सेवा' भन्ने तर सुविधा दिने बेला मौन बस्ने गरेको चिकित्सकहरूको गुनासो छ। डा. रिजालका अनुसार चिकित्सकहरू २४ सै घण्टा 'अन–कल' ड्युटीमा खटिनुपर्छ, जसले गर्दा उनीहरूको पारिवारिक र व्यक्तिगत जीवन तनावपूर्ण बनेको छ। "श्रम ऐनले हप्तामा ४० घण्टा तोके पनि चिकित्सकहरू ८० घण्टाभन्दा बढी काम गरिरहेका छन्, यो सरासर श्रम शोषण हो," उनले थपे।

डा. रिजालले ११ औँ तहका प्रशासनिक कर्मचारीले गाडी र चालक जस्ता सुविधाहरू पाउने तर सोही तहका चिकित्सकहरू ती आधारभूत सुविधाबाट वञ्चित हुनुले राज्यले उनीहरूलाई 'दोस्रो दर्जाको नागरिक' जस्तो व्यवहार गरेको उल्लेख गरे। उनले अस्पतालको सेवा प्रभावित नहुने गरी ओपिडी समय परिमार्जन गरेर आइतबार बिदा दिन सकिने सुझाव समेत दिएका छन्।

सरकारले हालै गरेको 'एकमुस्ट काज फिर्ता' को निर्णयप्रति पनि डा. रिजालले कडा टिप्पणी गरेका छन्। उपकरण र पूर्वाधार नभएको स्थानीय तहमा न्युरोसर्जन वा कार्डियोलोजिस्ट जस्ता विशेषज्ञलाई पठाउनु सीपको दुरुपयोग र राज्यका लागि घाटा भएको उनको तर्क छ। वि.सं. २०४८ सालको पुरानो दरबन्दीले अहिलेको जनसङ्ख्यालाई सेवा दिन असम्भव रहेको भन्दै उनले सातै दिन अस्पताल चलाउने भए दरबन्दी दोब्बर बनाउनुपर्ने अडान राखेका छन्।

अन्त्यमा, सुरक्षित कार्यस्थल, उचित सेवा-सुविधा र वैज्ञानिक कार्यविधिको सुनिश्चितताका लागि सरकारले तत्काल सरोकारवालासँग 'टेबल टक' मार्फत समस्या समाधान नगरे चिकित्सक पलायनको दर अझै बढ्ने चेतावनी डा. रिजालले दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ