arrow

मध्यपूर्व द्वन्द्व शान्तितर्फ उन्मुख, कूटनीतिक दौडधुप तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
iran-usa-talk-26-4-6.jpg

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच पछिल्ला दिनहरूमा कूटनीतिक पहलहरू तीव्र बनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध 'समाप्तिको निकै नजिक' पुगेको र यसै साता पुनः शान्ति वार्ता सुरु हुन सक्ने बताएका छन्। यसै सन्दर्भमा अमेरिका र इरानबीचको दोस्रो चरणको वार्ताका लागि प्रयास गरिरहेको छ। वार्तालाई सफल बनाउन हाल कायम अस्थायी युद्धविरामको अवधि लम्ब्याउने प्रयास समेत भइरहेको छ।

क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप इजरायल र लेबनानबीच पनि प्रत्यक्ष संवाद सुरु गर्ने सहमति भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोको मध्यस्थतामा वासिङ्टनमा भएको छलफलपछि दुवै देश वार्तामा बस्न सहमत भएका हुन्, जसलाई 'फलदायी' भनिएको छ। उता बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी कूटनीतिज्ञ सर्गेई लावरोभबीच भेटवार्ता भएको छ । जहाँ दुवै देशले मध्यपूर्वमा तनाव न्यूनीकरणका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यद्यपि, कूटनीतिक प्रयाससँगै विवाद र चुनौतीहरू पनि कायमै छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेका छन् भने अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धमा दिइँदै आएको छुट नवीकरण नगर्ने निर्णय गरेको छ। यसैबीच, लेबनानस्थित हिजबुल्लाहले उत्तरी इजरायलका १३ सहरमा रकेट आक्रमण गरेको दाबी गरेको छ । जसले युद्धविरामको प्रयासबीच पनि सुरक्षा जोखिम कायमै रहेको देखाउँछ।

युद्धको बाछिटा अन्य क्षेत्रमा पनि पुगेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाको ध्यान इरान युद्धमा केन्द्रित हुँदा युक्रेनले पाउने हतियार र सहयोगमा अवरोध आएको गुनासो गरेका छन्। यता ट्रम्पले इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको सहयोगप्रति असन्तुष्टि जनाउँदा पश्चिमी गठबन्धनभित्रको मतभेद सतहमा आएको छ। 

आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मध्यपूर्व र उत्तर अफ्रिकाको सन् २०२६ को आर्थिक वृद्धिदर घटाएर १.१ प्रतिशतमा झारेको छ जसले युद्धको गहिरो आर्थिक प्रभावलाई पुष्टि गर्दछ। मानवीय सहायताका रूपमा भने रेड क्रसले इरानमा पहिलो पटक राहत सामग्री पुर्‍याउन सफल भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ