हुण्डी र अभौतिक मुद्राको अवैध कारोबारमा प्रहरीको एक्सन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
667
Shares
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चैत महिनाको अवधिमा विभिन्न अपराधसँग सम्बन्धित कुल १ हजार १६६ वटा मुद्दा दर्ता गरेको छ। प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दर्ता भएका मुद्दामध्ये ५६४ वटा आर्थिक अपराधका छन् भने २१४ वटा जघन्य अपराध र ४६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित रहेका छन्। अन्य अपराधतर्फ ३४२ वटा मुद्दा दर्ता भएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीले यो महिना सम्पत्ति शुद्धीकरण र अवैध वित्तीय कारोबारमाथि कडा निगरानी राखेको देखिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी दुईवटा मुद्दामा २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँ बिगो दाबीसहित तीन जनालाई प्रतिवादी बनाइएको छ। त्यसैगरी, हुण्डी कारोबार नियन्त्रणका क्रममा तीनवटा मुद्दामा सात जनालाई पक्राउ गरी १ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
ठूला अपरेसनका क्रममा नागार्जुनको भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई १ करोड १६ लाख नगद र अन्य सामग्रीसहित पक्राउ गरिएको छ। त्यस्तै, काठमाडौँको ठमेलबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्राको अवैध कारोबारमा संलग्न एक चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए।
साइबर अपराध र अनलाइन ठगीको ग्राफ पनि बढ्दो क्रममा देखिएको छ। एक महिनामा साइबर अपराध तथा ठगीका २६१ मुद्दा दर्ता भएका छन्, जसमा अनलाइन सपिङका नाममा भएका ठगीका मात्रै १०० वटा उजुरी रहेका छन्। यसैगरी, महिनाभर हराएका २७३ मानिसमध्ये प्रहरीले १५९ जनालाई फेला पारेर परिवारको जिम्मा लगाएको छ।