प्रतिपक्षको आपत्तिबीच उद्योग समिति सभापतिमा अन्सारी निर्वाचित [भिडियो]
संसदीय अभ्यासअनुसार समिति सदस्य हेरफेर गर्दा प्रतिनिधि सभाबाट अनुमोदन आवश्यक हुने परम्परा रहेको उल्लेख
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
812
Shares
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति चयन प्रक्रियालाई लिएर संसदमा विवाद चर्किएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहवर अन्सारी सभापतिमा निर्वाचित भएपछि प्रतिपक्ष दलहरूले प्रक्रिया नै गैरकानूनी भएको भन्दै कडा आपत्ति जनाएका छन्।
शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्की, एमालेका क्षितिज थेवे तथा नेकपाकी निराशा चौधरी (डगौरा) लगायतले निर्वाचन शुरू भइसकेपछि नामावली हेरफेर गरेर अन्सारीलाई उम्मेद्वार बनाइएको दाबी गरेका छन्। उनीहरूले यस्तो कार्य विधि, प्रक्रिया र संसदीय परम्पराविपरीत भएको बताएका छन्।
एमाले सांसद थेवेले तोकिएको समयसीमा भित्र उम्मेदवारी दर्ता भइसकेपछि नाम परिवर्तन गर्नु अस्वीकार्य भएको बताएका छन्।
उनले निर्वाचन प्रक्रिया शुरू भएपछि मतदाता नामावली हेरफेर गर्ने अधिकार कुन नियमले दिएको हो भन्ने प्रश्न उठाउँदै यस्तो अभ्यासले संसदीय प्रणालीमै नकारात्मक सन्देश जाने बताएका छन्।
उनले व्यक्ति विशेषप्रति कुनै आपत्ति नभए पनि विधि मिचेर गरिएको निर्णय मान्य नहुने चेतावनी दिएका छन्।
नेकपाकी सांसद चौधरीले पनि अन्सारी निर्वाचनअघि समितिको सदस्य नै नरहेको अवस्थामा उम्मेद्वार बनाइनु नियमविपरीत भएको तर्क गरेकी छन्।
उनले मतदाता नामावलीमै नभएको व्यक्तिलाई सभापतिको उम्मेदवार बनाउनु विधिसम्मत नहुने स्पष्ट पारेकी छन्।
प्रतिपक्ष दलहरूले संसदीय अभ्यासअनुसार समिति सदस्य हेरफेर गर्दा प्रतिनिधि सभाबाट अनुमोदन आवश्यक हुने परम्परा रहेको उल्लेख गरेका छन्।
तर यस पटक सभाको बैठक नबसेको अवस्थामा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको विशेषाधिकार प्रयोग गरी नामावली परिवर्तन गराएको बताइएको छ।
यद्यपि, विपक्षीहरूको विरोधका बीच पनि समितिले रहवर अन्सारीलाई सभापतिमा निर्वाचित गरेको छ।
यो प्रकरणले संसदमा विधि र प्रक्रियाको पालनाबारे थप बहस सिर्जना गरेको छ।