प्रतिनिधि सभा नियमावली मस्यौदा अन्तिम चरणमा: महाभियोगको विषयमा दलगत परामर्श जारी [भिडियो]
सोमबारको बैठकमा सबै विषय टुंगोमा पुर्याएर मस्यौदालाई अन्तिम रुप दिइने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
681
Shares
काठमाडौँ । प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग जस्ता केही संवेदनशील विषयहरू टुङ्ग्याउन बाँकी रहे पनि अन्य अधिकांश बुँदाहरूमा सहमति जुटिसकेको जनाएको छ।
समितिका सभापति गणेश पराजुलीका अनुसार समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार सकिँदैछ, त्यसैले सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी रहेका विषयहरूलाई अन्तिम रूप दिने तयारी गरेको छ।
महाभियोग सम्बन्धी व्यवस्थामा दलहरूका फरक-फरक धारणा र विचारहरू देखिएकाले यसबारे बहुआयामिक ढङ्गले छलफल गरी राजनीतिक दलहरूको आधिकारिक धारणा समेट्ने प्रयास भइरहेको सभापति पराजुलीले बताए।
मस्यौदा निर्माणका क्रममा २०१६ सालयताको संसदीय इतिहास, अनुभव र बदलिँदो व्यवस्थालाई ध्यानमा राखिएको छ। आगामी पाँच वर्षसम्म प्रतिनिधि सभाको सञ्चालन, कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सुदृढ गर्ने र कार्यपालिकालाई संसद्प्रति जवाफदेही बनाउने विषयलाई नियमावलीमा प्राथमिकता दिइएको छ।
सभापति पराजुलीले यस पटकको नियमावलीमा सत्तापक्षको मात्र नभई प्रतिपक्षको आवाजलाई समेत उचित सम्बोधन गर्ने गरी लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोग गरिएको दाबी गरे। साथै, संसदीय समितिहरूमा सञ्चारकर्मीहरूको प्रवेश र पहुँचलाई पनि नियमावलीमै सुनिश्चित गरिएको उनले जानकारी दिए।
समितिले आइतबार सभामुख डोल प्रसाद अर्यालसँग भेट गरी मस्यौदाको कामबारे जानकारी गराएको छ भने पूर्वमहासचिवहरूसँग समेत सुझाव लिएको छ। नियमावलीको मस्यौदा प्रचलित कानुन, अदालतका फैसला र यसअघिका अभ्यासहरूभन्दा बाहिर नजाने गरी तयार पारिएको समितिले स्पष्ट पारेको छ। सोमबारको बैठकले सबै विषयहरूलाई अन्तिम रूप दिएपछि यो मस्यौदा पूर्ण हुनेछ।