काठमाडौँ। पूर्वमन्त्री तथा नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको बढ्दो दुःखमा विद्यार्थी संगठनहरू मौन बसेको भन्दै कडा असन्तोष व्यक्त गरेकी छन् ।
आइतबार काठमाडौँमा आयोजित विद्यार्थी संगठनको भूमिका र वर्तमान सामाजिक अवस्थाबारे कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलन आफ्नो साख र मूल एजेन्डाबाट च्युत भएको तर्क गरेकी हुन् ।
बजारमा चामलको मूल्य एकैपटक बोरामा साढे तीन सय रुपैयाँ बढ्दा पनि उपभोक्ता र विद्यार्थी संगठनहरू चुप बसेकोप्रति उनले अचम्म व्यक्त गरिन् ।
उनका अनुसार जनताले मूल्यवृद्धिलाई ‘बदला’ जस्तो रूपमा सहेर बसिरहेका हुन सक्छन्।
आन्दोलन तत्काल नहुने र त्यसका लागि वैचारिक तयारी आवश्यक हुने उनले बताइन् ।
झाँक्रीले भनिन्, “हामीले कुनै बेला मट्टितेल प्रयोग गर्ने विद्यार्थीका लागि सहुलियत माग्दै सडक ततायौँ, सार्वजनिक यातायातमा विद्यार्थी छुटका लागि संघर्ष गर्यौँ। तर आज भारतमा पेट्रोल १०७ भारु हुँदा नेपालमा २१९ रुपैयाँ पुगे पनि विद्यार्थी र पठाओ चालकहरू चुप छन् । किन कसैलाई चित्त दुखेको छैन ?”
उनले जनताले पहिले ताली बजाएर भोट दिएको नेतृत्वले नै अहिले जनताको घाँटी च्यापिरहेको आरोप लगाइन् ।
जनतालाई महँगीको वास्तविक असर महसुस नभएसम्म आन्दोलन नउठ्ने उनको भनाइ छ ।
सांसद झाँक्रीले देशमा ‘विचारधारात्मक संकट’ उत्पन्न भएको बताउँदै ठूला राजनीतिक दलहरूको अकर्मण्यता र आन्तरिक कमजोरीलाई जिम्मेवार ठहर गरिन्।
पार्टीहरूले कार्यकर्तालाई विचारवान बनाउनुको साटो ‘उपभोक्ता’ बनाएको भन्दै उनले आलोचना गरिन् ।
उनले पार्टीभित्र मौलाएको गुटतन्त्र र सिन्डिकेटप्रति प्रहार गर्दै नयाँ नेतृत्वलाई अवसर नदिने प्रवृत्तिले संगठन कमजोर बनेको बताइन् ।
निर्वाचन परिणामतर्फ संकेत गर्दै उनले ठूला दलहरूको सिट घट्नु आफ्नै कमजोरीको परिणाम भएको स्वीकार गरिन् । “यो अरू कसैको दोष होइन, हाम्रै नालायकीको सजाय हो,” उनले भनिन् ।
संघीयता कार्यान्वयनबारे पनि प्रश्न उठाउँदै उनले संघ र प्रदेशमा समानान्तर संरचना बनाएर राज्यको स्रोत दोहन गरिएको आरोप लगाइन् ।