गृहमन्त्री गुरुङको व्यावसायिक साझेदारीबारे स्पष्ट पार्न लिङदेनको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
618
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङ र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टबीचको व्यावसायिक साझेदारीबारे सरकारसँग तत्काल स्पष्टीकरण माग गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले व्यवसायी भट्टसँग आबद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा सेयर लिएको भनी सार्वजनिक भएका कागजातबारे सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वले जवाफ दिनुपर्ने बताए।
अध्यक्ष लिङदेनले सुशासनको नारा दिने सरकारले आफ्ना मन्त्रीबारे सञ्चारमाध्यममा आएका यति गम्भीर विषयमा मौन बस्न नहुने उल्लेख गर्दै गृहमन्त्री र पार्टी सभापति दुवैले आफ्नो स्थिति स्पष्ट पार्नुपर्नेमा जोड दिए। उनले सरकारको कार्यशैलीको आलोचना गर्दै देश केवल 'स्टन्ट'का भरमा चल्न नसक्ने टिप्पणी गरे। लाइसेन्स नवीकरण जस्ता विषयमा सामाजिक सञ्जालमा देखाइने प्रचारमुखी कार्यले जनताको समस्या समाधान नहुने उनको भनाइ थियो।
साथै, उनले अनधिकृत संरचना भत्काउने नाममा सरकारले राज्य आतङ्क फैलाएको भन्दै आक्रोश व्यक्त गरे। सम्बोधनका क्रममा अध्यक्ष लिङदेनले मुलुकमा अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई स्थापित गरेर जानुपर्ने जिकिर समेत गरे। उनले पार्टीभित्र अनुशासन कायम राख्न निर्देशन दिँदै निर्वाचनमा सहयोग नगर्ने नेता तथा कार्यकर्तामाथि कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्।