arrow

हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थाल्यो

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
hulak-sewa.jpeg
इलाम। बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ । जिल्ला हुलाक कार्यालयअनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म  ६ करोड निक्षेप सङ्कलन भएको छ । 
 
न्यूनतम ५० देखि एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म दुई हजारभन्दा बढीले खाता खोलेका कार्यालयले जनाएको छ । साधारण बचत खातामा तीन प्रतिशत र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याजदर दिने व्यवस्था रहेको जिल्ला हुलाक अधिकृत जुवालदास राईले बताए । 
 
विसं २०३३ बाट बचत सेवा प्रदान गर्न थालेको कार्यालयले स्थायी कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा रु चार लाखसम्म ऋण लगानी गरेको छ । विसं २०२६ मा छोटी हुलाकका रूपमा स्थापना भएको हुलाक २०३२ सालबाट जिल्ला हुलाक कार्यालयका रूपमा सेवा दिइरहेको छ । हुलाकको बैङ्किङ सेवाप्रति विश्वास बढ्दै गएकाले बचत गर्नेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको अधिकृत राईले बताए । मोबाइल, इमेल इन्टरनेट, फेसबुकका कारण हुलाकमा चिठ्ठीपत्रको चाप घटेको हो । 
 
इलाममा एक जिल्ला, ११ इलाका र ४० अतिरिक्त हुलाक रहेका छन् । राईका अनुसार हुलाकमा अहिले दैनिक व्यक्तिगत चिठ्ठी थोरै मात्र आउने गरेका छन् । विगतभन्दा ४० प्रतिशतले चिठीपत्र आदानप्रदान घटेको कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ