बालकुमारीमा सबस्टेशन निर्माणको बाटो खुल्यो, चार वर्षदेखिको जग्गा विवाद अन्त्य
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
292
Shares
काठमाडौँ । ललितपुरको बालकुमारीमा आधुनिक जीआइएस सबस्टेशन निर्माणका लागि लामो समयदेखि देखिएको जग्गा प्राप्तिको अड्चन अन्ततः समाप्त भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएसँगै यो महत्त्वपूर्ण प्रक्रिया पूरा भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष पहलमा अघि बढेको यो परियोजना जग्गाकै अभावका कारण विगत चार वर्षदेखि रोकिएको थियो। काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई थप सुदृढ, भरपर्दो र दिगो बनाउने लक्ष्यका साथ यो उच्च क्षमताको सबस्टेशन निर्माण गर्न लागिएको हो।
एसियाली विकास बैंक (एडिबी) को करिब दुई अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण हुने यस सबस्टेशनले भक्तपुरको ठिमीबाट आउने भूमिगत प्रसारण लाइनलाई जोड्नेछ र पछि यसलाई टेकु सबस्टेशनसम्म विस्तार गरिनेछ। जग्गा प्राप्तिका लागि प्राधिकरण र केयुकेएलबीच एक विशेष सहमति भएको छ, जसअनुसार केयुकेएलको ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् प्राधिकरणले निःशुल्क उपलब्ध गराउनेछ भने त्यसको बदलामा प्राधिकरणले २५ वर्षसम्मका लागि तीन रोपनी १३ आना दुई पैसा जग्गा उपभोग गर्न पाउनेछ
। यो सबस्टेशन सञ्चालनमा आएपछि आगामी पाँच वर्षसम्मको बढ्दो विद्युत् मागलाई सहजै सम्बोधन गर्न सकिने विश्वास लिइएको छ। अब जग्गाको प्रक्रिया टुङ्गिएसँगै प्राधिकरणले निर्माण कार्यका लागि छिट्टै बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।