आगामी अधिवेशन प्रभावकारी बनाउन सचेतकहरूसँग सभामुखको छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
289
Shares
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदको आगामी अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन भएपछि सभामुखसँग भएको यो पहिलो भेटघाटमा बधाई तथा शुभकामना आदानप्रदान समेत भयो।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदमा हुने काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको र सत्तारुढ तथा प्रतिपक्षी दलहरूले सभामुखसमक्ष आफ्ना केही जिज्ञासाहरू राखेको जानकारी दिइन्।
रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारका अनुसार सभामुखले संसदको अहिलेको धरातलीय यथार्थ र संसदले व्यहोर्नुपरेका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा ६ वटै दलका प्रतिनिधिहरूसँग राय लिएका थिए। सो क्रममा सभामुख अर्यालले संसदलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न दलहरूसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले छलफलको कुनै ठोस एजेण्डा नभए पनि सभामुखले संसदको प्रभावकारिता बढाउन सबै दलहरूसँग सहकार्यको अपेक्षा गरेको बताइन्।
बैठकमा सचेतकको कार्यालय सञ्चालन लगायतका सामान्य विषयमा छलफल भएको र कांग्रेसका तर्फबाट संसद छिटोभन्दा छिटो सञ्चालन गर्न पहलकदमी लिन सभामुखलाई आग्रह गरिएको उनले उल्लेख गरिन्। छलफलका क्रममा सभामुख अर्यालले संसदको बर्खे अधिवेशन छिट्टै आह्वान हुने विश्वास व्यक्त गरेका छन्।