लक्ष्मी सनराइज बैङ्क र आईएफसीबीच महिलामा बैङ्किङ पहल अन्तर्गत सहकार्य सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
209
Shares
काठमाडौँ। लक्ष्मी सनराइज बैङ्कले विश्व बैङ्क समूह अन्तर्गतको निजी क्षेत्रीय अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग महिलामा बैङ्किङ (बीओडब्ल्यू) पहल अन्तर्गत ग्लोबल डब्ल्यूएमएसएमई सेक्स डिसएग्रिगेटेड डाटा (एसडीडी) सहकार्य सम्झौता गरेको छ। उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल वुमन एण्ट्रप्रेन्योर्स फाइनान्स इनिसिएटिभ (वी–एफआई) ले सहयोग गरिरहेको छ।
वी–एफआई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्ल्यूएमएसएमई) हरूमा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यस अन्तर्गत सञ्चालन हुने वुमन एण्ट्रप्रेन्योर्स फाइनान्स कोड (द वी–फाइनान्स कोड) वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाहरूबीचको साझा प्रतिबद्धता हो।
यसले महिला उद्यमीहरूलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राख्छ।
सम्झौतामा लक्ष्मी सनराइज बैङ्कका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप – अपस्ट्रीम एन्ड एडभाइजरी) मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए।
यस सहकार्यअन्तर्गत आईएफसीले बैङ्कलाई लैङ्गिक आधारमा विभाजित तथ्याङ्क (सेक्स डिसएग्रिगेटेड डाटा – एसडीडी) को सङ्कलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ। यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरू (डब्ल्यूएसएमई) का आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइ विकास गर्न मद्दत गर्नेछ र बैङ्कले महिला उद्यमीहरूका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधानहरू विकास गर्न सक्नेछ।
यो सहकार्यले जिम्मेवार बैङ्किङ अभ्यासप्रति लक्ष्मी सनराइज बैङ्कको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। बैङ्कले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ।