सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि: राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
397
Shares
तस्बिर फाइल
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदै छ र सोही दिन सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भोलि अपराह्न ४:०० बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
नेपालको संविधानको धारा ९५ मा प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहे बमोजिम यो बैठक आयोजना हुन लागेको हो। संसद् सचिवालयले संयुक्त बैठकमा सहभागी हुनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई अपराह्न ३:४५ बजेभन्दा अगावै उपस्थित हुन विशेष अनुरोध समेत गरेको छ।
संयुक्त बैठक सुरु हुनुअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू सञ्चालन हुनेछन्। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। साथै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रतिनिधिसभा नियमावली २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गर्ने र नियमावलीको मस्यौदा प्रस्तुत गर्ने लगायतका कार्यहरू पनि सोही बैठकमा सम्पन्न हुनेछन्।
यस पटकको अधिवेशनमा सरकारले महत्त्वपूर्ण आठवटा अध्यादेशहरू पेस गर्ने तयारी गरेको छ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०८३ लगायतका रहेका छन्। यी अध्यादेशहरू प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गरिने जानकारी संसद् सचिवालयले दिएको छ। बजेट अधिवेशनलाई मुख्य रूपमा सरकारको आर्थिक योजना र बजेट निर्माणको महत्त्वपूर्ण समयका रूपमा लिइने गरिन्छ।