नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको 'बहिर्गमन' प्रति कांग्रेसको व्यङ्ग्य: 'गिनिज बुकमा नाम लेखिने घटना'
अविलम्ब प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस्
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
353
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र साह संसद् बैठकको बीचैबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेसले यसलाई ‘अमर्यादित र दुर्भाग्यपूर्ण’ कार्यको संज्ञा दिँदै प्रधानमन्त्रीको व्यवहारले संसदीय गरिमामा आँच पुगेको दाबी गरेको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विश्वका कुनै पनि मुलुकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको इतिहास नरहेको बताए। उनले यसलाई व्यङ्ग्यात्मक रूपमा ‘गिनिज बुक’ मा नाम लेखिने विषय भएको टिप्पणी गरे।
नेता आङदेम्बेले प्रधानमन्त्रीको अचानकको बहिर्गमनलाई स्वास्थ्य अवस्थासँग जोड्दै यसबारे संसद्लाई आधिकारिक जानकारी दिन माग गरे। प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको उल्लेख गर्दै उनले सत्ताको भार अपेक्षा गरेभन्दा बढी भएका कारण यस्तो व्यवहार देखिएको हुन सक्ने संशय व्यक्त गरे। प्रधानमन्त्रीको व्यवहारले जनताको मन कुडिएको र देशकै शिर झुकेको दाबी गर्दै उनले भने, “प्रधानमन्त्रीको स्वास्थ्य स्थिति गम्भीर बनेर उहाँ हिँड्नुभएको हो भने अविलम्ब स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस्।”
सम्बोधनका क्रममा आङदेम्बेले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाए। सदनलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी सभामुखको भए पनि प्रधानमन्त्री बीचैमा निस्कँदा सभामुख मौन रहेको भन्दै उनले आश्चर्य व्यक्त गरे। यो घटनाले सदनको गरिमामा दाग लागेको महसुस भएको उनले बताए।
प्रधानमन्त्री रास्वपाको मात्र नभई राष्ट्रकै सम्पत्ति भएकाले उनको स्वास्थ्य र संसदीय आचरणप्रति प्रतिपक्ष चिन्तित रहेको कांग्रेसको भनाइ छ।