arrow

वैदेशिक सहायता परिचालनको जिम्मा परराष्ट्रलाई दिनुपर्ने सांसद कार्कीको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
arjun-kumar-karki-31.jpg

काठमाडौँ । नेकपा (एमाले) का सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी अर्थ मन्त्रालयबाट हटाएर परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रस्ताव गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्दै उनले यस्तो माग राखेका हुन्।

सांसद कार्कीले मुलुकको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले हाल अर्थ मन्त्रालय मातहत रहेको वैदेशिक सहायता परिचालनको कार्य परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका कूटनीतिक नियोगहरूमार्फत हुनुपर्ने जिकिर गरे।

कूटनीतिक क्षेत्रको अनुभव समेत सँगालेका कार्कीले भने, "हाम्रा ३३ मुलुकमा रहेका ४४ वटा नियोग र त्यहाँ कार्यरत विशेषज्ञ जनशक्तिलाई आर्थिक कूटनीतिमा प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक छ। वैदेशिक सहायता जुटाउने प्रमुख जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइनुपर्छ भने अर्थ मन्त्रालयले प्राप्त सहायतालाई कुन क्षेत्र र विकास आयोजनामा खर्च गर्ने भन्ने विषयमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ।"

सांसद कार्कीले नीति तथा कार्यक्रमको बुँदा नम्बर ९० मा संशोधन प्रस्ताव गर्दै नेपाली डायस्पोरा र गैरआवासीय नेपालीहरूको लगानी आकर्षित गर्न 'एनआरएन इन्भेस्टमेन्ट फण्ड' को प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। विदेशमा रहेका नेपालीहरूको पुँजीलाई विकासमा परिचालन गर्न उनीहरूलाई दोहोरो कर प्रणालीबाट मुक्त गराउनुपर्ने र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

नेपालले हाल अति कम विकसित राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको सन्दर्भमा वैदेशिक सहायताको सही परिचालनबाट मात्रै गरिबी निवारण र विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सकिने उनको तर्क छ। राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न उनले सरकारलाई विशेष सुझाव समेत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ