arrow

सांसद पार्वती विकको प्रश्न - सदनको व्यवहारले भावी पुस्ताले के सिक्लान् ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
parbati-bk-31-01.jpg

काठमाडौँ। प्रतिनिधि सभाकी सदस्य पार्वती विकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी नभएको टिप्पणी गरेकी छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा हुने व्यवहारले भावी पुस्तामा गलत सन्देश जानसक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्, ‘मलाई डर लागिरहेको छ, यो गरिमामय सदनमा एकले अर्कोलाई सक्काउन सहयोग त गरौँला र सक्कौँला । तर हाम्रा सन्ततिले के सिक्लान् भन्ने डर छ । सरकारले नीति तथा कार्यक्रम टेबल गर्यो, छोटो समयमा धेरै मेहनत गरेर ल्याएको बुझिन्छ, प्रयासका लागि सरकारलाई धन्यवाद ।’

उनले नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भए पनि धेरै वर्ग र क्षेत्रका मुद्दा समेटिन नसकेको बताइन् ।

‘नीति कार्यक्रमलाई हेर्दा डिजिटलमैत्री शासनलाई ध्यान दिन खोजिएको छ। सुशासनमा बढी जोड दिइएको छ । तर ३० प्रतिशत गरिबीको रेखामुनी रहेका जनताको बारेमा बोलेको छैन,’ उनले भनिन् ।

विकले सरकारले राष्ट्रिय गौरवका आयोजना बन्द गर्ने संकेत गरेको जस्तो देखिएको पनि टिप्पणी गरिन् । साथै दलित महिला, मधेसी महिला, अल्पसंख्यक महिला, कर्णाली र सुदूरपश्चिमका महिलाका विषय नीति कार्यक्रममा नसमेटिएको आरोप लगाइन् ।

उनले बालबालिकाका विषयमा सामान्य रूपमा उल्लेख भए पनि गरिबीको रेखामुनी रहेका बालबालिका, अनाथालयमा रहेका बालबालिका तथा सुधारगृहमा रहेका बालबालिकाको विषयमा स्पष्ट कार्यक्रम नदेखिएको बताइन् ।

दुर्गम क्षेत्र कर्णाली र सुदूरपश्चिमका लागि पनि विशेष कार्यक्रम नरहेको उनको भनाइ थियो ।

‘यो नीति तथा कार्यक्रमले दलित महिला, मधेसी महिला, अल्पहसंख्यक महिला, कर्णाली र सुदूरपश्चिमका महिलाको विषयमा बोलेको देखिँदैन । बालबालिको बारेमा बोलेको छ तर गरिबीको रेखामुनी हुर्केका बालबालिका, अनाथलयमा रहेका बालबालिका र सुधारगृहमा रहेका बालबालिकाको विषयमा बोलेको देखिदैन । दुर्गम क्षेत्र कर्णाली र सुदूरपश्चिमका लागि विशेष कार्यक्रम केही छैन,’ उनले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ