प्रि-बजेटमाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
466
Shares
काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएपछि संसद् बैठक स्थगित भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको जारी छलफलका क्रममा सांसदहरूले अर्थमन्त्रीको अनुपस्थितिलाई लिएर विरोध र अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बजेट जस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि अर्थमन्त्री संसद्मा उपस्थित नभएको भन्दै विपक्ष र सत्तापक्षकै सांसदहरू आक्रोशित बनेका थिए। छलफलकै क्रममा सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै रोस्ट्रममै उभि रहे। त्यसपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन्।
यसअघि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पनि अर्थमन्त्री वाग्ले उपस्थित नभएको भन्दै संसद्मै आपत्ति जनाएका थिए। उनले बजेट छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुने संसदीय परम्परा र प्रणालीलाई भत्काएर सरकारले संसद्कै औचित्य समाप्त पार्न खोजेको आरोप लगाए।
अर्थमन्त्री वाग्ले आउँदै गरेको र संसद सुचारु गरौँ भन्ने सभामुख अर्यालले प्रस्ताव सांसद राई सामु राखे पनि अर्थमन्त्री उपस्थित हुनुपर्नेमा अडान राखिरहे । बैठक अगाडि बढाउन सक्ने स्थिति नभएपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरी सहमतिको प्रयास थालेका छन्।