काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत बुधबार शुरू भएको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो विरोध प्रदर्शनलाई आज पनि निरन्तरता दिएको छ। पार्टीका सांसदहरूले संसद् भवनभित्रै विभिन्न मागसहितका पर्चा (प्लेकार्ड) बोकेर विरोध जनाएका हुन्।
बुधबारको प्रतिनिधिसभा बैठकको कारबाही सुरु हुनासाथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सो पार्टीका सबै सांसदहरू आ-आफ्नो स्थानबाट उठेर रोष्टम घेराउ र विरोधमा उत्रिएका थिए। संसद्को नियमित कार्यसूची अघि बढाउन लाग्दा उनीहरूले आकस्मिक रूपमा सदन अवरुद्ध गर्दै नाराबाजी र प्रदर्शन गरेका हुन्।
अध्यक्ष साम्पाङको नेतृत्वमा रहेका सांसदहरूले उठाएका माग र असन्तुष्टिका कारण संसद्को वातावरण केही समय तनावग्रस्त बनेको थियो।
सभामुखले पटक-पटक बस्न र सदनको कामकारबाही अघि बढाउन आग्रह गर्दा पनि श्रम संस्कृति पार्टीका जनप्रतिनिधिहरूले आफ्नो अडान कायम राख्दै विरोध जारी राखे । हाल सभा संचलनमा आएको छ।