arrow

प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ: सञ्चारमन्त्री तिमिल्सिना

मर्यादा र सीमाभित्र रहेर ढुक्कसँग काम गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
bikram-timalsina.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले नै सुनिश्चित गरेको मौलिक अधिकार भएकाले कसैले पनि यसलाई कुण्ठित गर्न नसक्ने बताए।

सदनमा बोल्दै मन्त्री तिमिल्सिनाले भने, “प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो सरकारको कुनै एउटा व्यक्तिले दिएको नभई संविधानले नै प्रत्याभूत गरेको अधिकार हो। यो अधिकार सधैँ सुरक्षित रहन्छ; आज, भोलि र पर्सि कसैले पनि यसलाई कुण्ठित वा हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता भने होइन। प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ।”

उनले राज्य व्यवस्थाले चौथो अङ्गका रूपमा स्वीकारेको पत्रकारिता क्षेत्रले आफ्नो ओज र गरिमालाई कायम राखेर कार्य गर्दा सरकारले चाहेर पनि यसको विरुद्धमा केही गर्न नसक्ने कानुनी व्यवस्था रहेको स्मरण गराए।

मन्त्री तिमिल्सिनाले पत्रकारिता जगत्लाई आफ्नो मर्यादा, व्यवसायिक धर्म र जिम्मेवारीलाई ध्यानमा राखेर ढुक्कसँग काम गर्न आग्रह गरे। सञ्चारमाध्यम र पत्रकारहरूले आफ्नो गरिमा र सीमालाई ख्याल गरेर अघि बढ्दा स्वतन्त्रतामाथि कतैबाट पनि आँच नआउने उनको भनाइ थियो।

“हामीले प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ। प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन। त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगत्लाई आग्रह गर्दछु,” उनले थपे।

सञ्चारमन्त्रीले मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको कुनै पनि मनसाय वा नीति नरहेको स्पष्ट पारे। बरु सञ्चार क्षेत्रको नियमन र विकासका लागि प्रेस काउन्सिल नेपाल तथा चलचित्र सेन्सर बोर्ड जस्ता जिम्मेवार निकायहरूलाई थप सक्षम, सुदृढ र प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

सम्बोधनका क्रममा मन्त्री तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम एवम् आगामी बजेटका प्राथमिकताका सम्बन्धमा सांसदहरूले संसद्मा दिएका रचनात्मक सुझाव र उठाएका प्रश्नहरूलाई सरकारले गम्भीरतापूर्वक मनन गर्ने र सोही अनुरूप अघि बढ्ने विश्वास समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ