arrow

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी मेडिकल कलेजका विद्यार्थीको नतिजा अब्बल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
nepal-medical-council.jpg

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको ६९औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा अनुसार स्वदेशी मेडिकल कलेजका विद्यार्थीहरूको शैक्षिक गुणस्तर विदेशी कलेजको तुलनामा निकै राम्रो देखिएको छ। समग्र परीक्षाको उत्तीर्ण प्रतिशत ६६।९५ कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थीहरूको उत्तीर्ण दर ७६।७९ प्रतिशत रहेको छ।

काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म कम्प्युटर प्रविधि (सिबिटी) मार्फत सञ्चालन गरेको परीक्षामा कुल २ हजार २६३ परीक्षार्थी सहभागी भएकोमा १ हजार ५१५ जना उत्तीर्ण भएका छन्।

तथ्याङ्क अनुसार स्वदेशका मेडिकल कलेजबाट एमबीबीएसतर्फ सहभागी १ हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना (७६।७९ प्रतिशत) उत्तीर्ण हुन सफल भए। यसको विपरीत, विदेशका मेडिकल कलेजमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम र निराशाजनक देखिएको छ।

छिमेकी मुलुक भारत र चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूको नतिजा समेत सन्तोषजनक छैन। भारतका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको उत्तीर्ण दर ४२।३१ प्रतिशत र चीनमा पढेकाहरूको मात्र १५।०४ प्रतिशत रहेको छ। यस्तै, बङ्गलादेशबाट पढेका ४१।१४ प्रतिशत र फिलिपिन्सबाट पढेका २८।५७ प्रतिशत नेपाली विद्यार्थी उत्तीर्ण भएका छन् भने इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निकै कमजोर रहेको काउन्सिलले जनाएको छ।

डेन्टल (बीडीएस) तर्फ स्वदेशी मेडिकल कलेजमा अध्ययन गरेका ४०० परीक्षार्थीमध्ये ३४३ जना (८५।७५ प्रतिशत) उत्तीर्ण भएका छन्। तर, भारतबाट बीडीएस तह अध्ययन गरी फर्किएका १७ नेपाली विद्यार्थीमध्ये केवल १ जना मात्र उत्तीर्ण हुन सकेका छन्।

यस वर्ष एमबीबीएसतर्फको लाइसेन्स परीक्षामा 'चितवन मेडिकल कलेज' (सीएमसी) ९३।१० प्रतिशत नतिजासहित देशभरीकै कलेजहरूमध्ये उत्कृष्ट (प्रथम) हुन सफल भएको छ। यसै गरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२।२१ प्रतिशत नतिजासहित दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१।६७ प्रतिशत नतिजासहित तेस्रो स्थानमा रहेका छन्। बीडीएसतर्फ भने गण्डकी मेडिकल कलेजबाट उत्पादित विद्यार्थीहरू शतप्रतिशत (सबै) उत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिस्ट्रार डा। दीपेन्द्र पाण्डेका अनुसार विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर हुनुको मुख्य कारण भाषागत समस्या र पाठ्यक्रमको भिन्नता हो। तथापि, एउटै परीक्षाको नतिजाका आधारमा स्वदेशी शिक्षा उत्कृष्ट र विदेशी शिक्षा कमजोर भनेर हतारमा निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ।

डा। पाण्डेले लाइसेन्स परीक्षाको नतिजाले वास्तविक अवस्था उजागर गरेको भए पनि विदेशबाट अध्ययन गरेका परीक्षार्थीमा खोट देखाउने वा उनीहरूको मनोबल कमजोर बनाउने पक्षमा काउन्सिल नरहेको प्रस्ट पारे। काउन्सिलले अब सैद्धान्तिक परीक्षासँगै व्यावहारिक (प्र्याक्टिकल) परीक्षाको समेत व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। चिकित्सा क्षेत्रजस्तो संवेदनशील विषयको यो नतिजाबारे सूक्ष्म समीक्षा गरी समस्या समाधान गर्न काउन्सिलले सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ