काठमाडौं। बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले नेपाली भाषाको चलचित्र पाहुना बनाउने भएकी छन्। भारतको नेपाली भाषी राज्य सिक्किमको पर्यटन मन्त्रालय र प्रियंकाकी आमा प्रमुख रहेको फिल्म कम्पनी ‘पर्पल पेबल’ को सहकार्यमा उनले नेपाली चलचित्र बनाउन लागेकी हुन्। फिल्ममा नेपालमा दस वर्ष चलेको सशस्त्र द्वन्द्व र सो द्धन्दका क्रममा बाबुआमाबाट छुट्टिएर सिक्किम पुगेका तीन बालबालिकाको कथा रहने बताइएको छ। तीन बालबालिकाको कथामा प्रेम, शक्ति र साहसलाई चित्रण गर्ने प्रयास हुने बताइएको छ ।
सिक्किम सरकारसँगको सहकार्यमा बन्न लागेको फिल्मको घोषणा गर्न पाउँदा म निकै खुसी छु,’ प्रियंका चोपडाले भनेकी छिन्, ‘यो फिल्म त्यस्तो हुनेछ, जुन कथा भन्न भन्न म धेरै अघिदेखि उत्साहित थिएँ। आज यो ठाउँमा एउटा अर्थपूर्ण काम हुन लागिरहेकोमा खुसी लागिरहेको छ।’
फिल्ममा अधिकांश प्राविधिक र कलाकारहरु सिक्किमकै रहनेछन्। सिक्किमकी अभिनेत्री मन्जु क्षेत्रीसहित पाँच कलाकार फिल्मका लागि छानिइसकेका छन्। मञ्जु तीन वर्षअघि मेरी बास्सैमा अभिनय गरिसकेकी कलाकार हुन्।
बलिउड र हलिउड श्रृंखला ‘क्वान्टिको’ तथा ‘बेवाच’ फिल्म अभिनेत्री प्रियंका चोपडाले बनाउन लागेको नेपाली भाषाको फिल्म पाहुना नेपाली भाषीहरुका लागि प्रियङकाको तर्फबाट उपहार हुने फिल्म समिक्षकहरु बताउँछन्।