काठमाडौंँ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया जारी राखेको छ । समितिले सोमबार अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाइ गरेको छ । उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । शेर्पाविरुद्ध समितिमा कुनै पनि उजुरी परेको थिएन ।
सोमबार एक जनाको मात्र सुनुवाइ भएपछि मंगलबार ६ जनाको सुनुवाइ हुने समितिले जनाएको छ । समितिले सोमबार सात जनाको सुनुवाइ हुने भनेर बोलाएको थियो । तर एक जनाकोमात्र सुनुवाई गरी अन्यलाई फर्काएपछि भने केहीले तनाव भएको बताएका छन् । यससम्बन्धमा समितिले भने अब निरन्तर सुनुवाइ हुने जनाएको छ ।
समितिले सोमबार प्रस्तावित पदाधिकारीको सुनुवाइ प्रक्रिया अघि बढाउनुभन्दा पहिले उजुरीकर्तासँग छलफल गरेको थियो । सुनुवाइका लागि प्रस्तावित १२ राजदूतमध्ये तीन जनाविरुद्ध उजुरी परेको छ ।
कतारका लागि प्रस्तावित रमेश कोइराला, ओमनका लागि प्रस्तावित शर्मिला पराजुली ढकाल र इजरायलका लागि प्रस्तावित नीरञ्जन थापाविरुद्ध उजुरी परेका छन् । तर, ओमनका लागि प्रस्तावित ढकालका उजुरीकर्ताबाहेक अन्य दुई उजुरीकर्ता समितिमा उपस्थित भएनन् ।
मंगलबार बोलाइएका छ जना प्रस्तावित राजदूतमा इजरेलका लागि तोकिएका निरन्जन थापाविरुद्धमात्र उजुरी परेको छ । डेनमार्कका लागि पस्तावित राजदूतमा परेका वरिष्ठ पत्रकार युवनाथ लम्सालले सोमबार पनि बोलाइएको र मंगलबार पनि बोलाइएको प्रतिक्रिया दिए । सातौं नम्बरमा नाम रहेको भन्दै लम्सालले १२ बजेको समय दिइएको पनि जानकारी दिए ।
मन्त्रिपरिषद्ले सुरुमा १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादपछि यूएईका लागि प्रस्तावित आशा लामा र स्पेनका लागि प्रस्तावित भरत रायमाझीबाहेक १२ राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन समितिमा पत्राचार गरेको थियो ।