arrow

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
vega.jpg.jpeg
रामपुर (पाल्पा)। रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्छन् । 
 
भण्डारी अहिले तरकारी बेचेर मासिक १ लाख ५० हजार बराबरको आम्दानी लिन सफल भएका छन्  । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिन्छन् । 
 
“जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उनले भने– “यही व्यवसायबाट दाम र नाम मिलेको छ ।” जिल्लामै नमुना व्यावसायिक कृषकका रुपमा पहिचान बनाउन सकेकामा उनि खुसी छन् । 
 
बाह्र वर्षअघि दुईवटा घिरौँलाको बोटबाट भण्डारीले व्यवसाय सुरु गरेका हुन् । अहिले उनले सात रोपनी जग्गामा व्यवसाय विस्तार गरेका छन् । मेहनत र जाँगर भयो भने यथेष्ट आम्दानी गर्न कुनै समस्या नहुने भण्डारीको भनाइ छ । 
 
बेमौसमी तरकारीले बजारमा उचित मूल्य पाएपछि त्यसतर्फ बढी ध्यान दिएको भण्डारी बताउछन् । तरकारी व्यवसायबाट दुई छोरीको पढाइ खर्च, विवाह खर्चका लागि आफूलाई कुनै समस्या नपरेको उनको भनाइ छ । अहिले उनले काँक्रा, लौका, घिरौँला, फर्सी जातका तरकारी लगाएका छन्  । यतिबेला उनलाई काँक्रा बेच्न भ्याइनभ्याई छ । 
 
“बेमौसमी उत्पादन भएकाले बजारमा अत्यधिक मात्रामा काँक्रा बिक्री भइरहेको छ,” भण्डारीले भने। आफूमा सीप, जाँगर र मेहनत छ भने घरमै दैनिक दुई-तीन घन्टा काम गरेर पनि हजारौँ रुपैयाँ कमाउन सकिने उदाहरणीय पात्र बनेका छन् कृषक भण्डारी । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ