arrow

एडिबीको बैठकमा भाग लिन उपप्रधानमन्त्री महरा जापानमा, यस्ता छन् कार्यक्रम

logo
शरच्चन्द्र भण्डारी 
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

योकोहामा । एसियाली विकास बैंक एडिबी सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा शुक्रबार बिहान जापान आइपुगेका छन् ।  

उपप्रधानमन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डललाई हेनेदा अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले स्वागत गरे । 

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, सोही मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्याललगायत छन् ।  

उपप्रधानमन्त्री महराले  शुक्रबार जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग जाइकाका उपाध्यक्षसँग आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम छ । 

शुक्रबारै उनी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क देशका अर्थमन्त्रीहरुको बैठकमा सहभागी हुने छन् । 

उक्त बैठकमा भाग लिन सार्कका महासचिव अमजद हुसेन बी सियाललगायत सार्क सचिवालयका उच्च पदाधिकारी पनि योकोहामा आइपुगेका छन् ।  

बैठकमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र साफ्टा, अन्तरक्षेत्रीय व्यापार तथा लगानी प्रवद्र्धनलगायत विषयमा छलफल हुने सार्क सचिवालयका एकजना अधिकारीले बताए । 

यसैबीच एडिबीका उच्च अधिकारीहरुको गएराति सम्पन्न बैठकमा नेपाललाई आगामी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुकका रुपमा स्तरोन्नति गर्न एडिबीलगायत विकासका अन्य साझेदारले सहयोगको मात्रा बढाउनुपर्नेमा नेपालले जोड दिएको छ । 

थाइल्यान्ड, म्यान्मा, सिङ्गापुर, ब्रुनाई, मलेसियाका उच्चअधिकारी सम्मिलित उक्त बैठकमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न तथा नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन आफूले आग्रह गरेको नेपाली प्रतिनिधिमण्डलका नेता अर्यालले जानकारी दिए । 

बैठकमा एडिबीको रणनीतिक साझेदारी र नीति, निजी क्षेत्रसँगको सहकार्य, दक्षिण एसियाको समृद्धिमा एडिबीको भूमिकाबारे पनि छलफल भएको उनले बताए । 

एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासमा सघाउने उद्देश्यले ५० वर्षअघि स्थापना भएको एडिबी बहुपक्षीय क्षेत्रीय बैंक हो । नेपाल एडिबीको संस्थापक सदस्य देश हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ