यसो पो भने पोखरा लेखनाथ महानगरपालिकाका काँग्रेस मेयर उम्मेदवार कुँवरले
प्रकाशित २०७४ वैशाख २५ सोमबार
630
Shares
पोखरा । नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले समृद्ध महानगर काँग्रेसको सपना भएको बताएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २८, ३१ र ३२ मा आइतबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आम मानिसले कल्पना गरेको समृद्ध पोखरा निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए ।
‘निर्वाचनमा विजयी भएसँगै पोखराको गुरुयोजना तयार गरेर आधुनिक पोखरा निर्माण अभियानको थालनी गर्ने छु,’ उनले भने ‘काँग्रेस कास्कीले विकासका पाँचवर्षे घोषणापत्र तयार गरी समृद्ध महानगरका योजना सार्वजनिक गरिसकेको छ, त्यसको कार्यान्वयन गर्ने मेरो पहिलो दायित्व हो ।’
महानगरको उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको क्षेत्रीय बसपार्क निर्माणलाई निर्वाचनको परिणामको भोलिपल्टबाट नै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् । रासस