चुनावको दिन नियन्त्रणमा लिईएका सवारीलाई हुँदैन त कारबाही ?
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
540
Shares
काठमाडौं । ट्राफिक प्रहरीले चुनावको दिन सवारी चलाएको अभियोगमा काठमाडौं उपत्यकाबाट मात्रै झण्डै २५ सय सवारी साधनलाई नियन्त्रणमा लिएको छ । दिउँसो ५ बजेदेखि राती ७ बजेसम्मको लागि सवारी प्रतिवन्ध लगाईएकोमा उपत्यकाबाट कूल २४ सय ७१ वटा सवारी नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले दिएको जानकारी अनुसार यसरी नियन्त्रणमा पर्नेहरुमा अत्यधिक संख्यामा मोटरसाईकल अरु रहेका छन् । महाशाखाका अनुसार आईतबार कूल २३ सय ४८ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ । त्यस्तै, भाडाको सवारी ५ वटा, ट्रक १९ वटा, मिनिट्रक एउटा, माईक्रो ८ वटा, कार ८२ वटा र अन्य सवारी साधन ६ वटालाई नियन्त्रणमा लिईएको छ ।
यिनीहरु मध्ये काठमाडौंबाट अधिकतम २०४८ वटा, ललितपुरबाट ३ सय २० वटा र भक्तपुरबाट १०३ वटा सवारी नियन्त्रणमा लिईएको छ । उनीहरुलाई कारबाही गर्ने विषयमा अहिलेसम्म केही पनि निर्णय नभएको र कारबाही नगरी छाड्न पनि सक्ने सम्भावना समेत रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म सो विषयमा कुनैपनि निर्णय भएको छैन । अन्तमा ट्राफिक नियम उल्लंघन कसुरमा ५ सय रुपैयाँ जरिवाना गरेर छाड्ने सम्भावना समेत रहेको छ ।