विद्यासुन्दर टिमको पहिलो निर्णय : क्लिन सिटीदेखि बृद्धभत्ता बृद्धिसम्म
प्रकाशित २०७४ जेठ १७ बुधबार
159
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । बुधबार नै जनप्रतिनिधिहरुले पहिलो नगर समितिको बैठक समेत बसेर विविध विषयमा महत्वपूर्ण निर्णयसमेत गरेका छन् । बुधबार महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबारमा पुगेर उनीहरुले विभिन्न विषयमा निर्णय समेत गरेका छन् ।
सपथ ग्रहण गरेसँँगै शहीद स्मारक लैनचौर, गणेशमान स्तम्भ रत्नपार्क, मंगलादेवी पार्क शोभाभगवती, पुष्पलाल स्मृति पार्क कीर्तिपुर, मदन भण्डारीको शालिक बल्खु लगायतका उच्च व्यक्तित्वको शालिकमा माल्यार्पण गरेपछि प्रमुख तथा उपप्रमुखले वागदरवार स्थित महानगर केन्द्रीय कार्यालयमा दुई वटा रुद्राक्षको विरुवा रोपेका थिए ।
त्यसपछि बसेको बैठकले आफ्नो पहिलो निर्णय अनुरुप क्लिन द सिटी कार्यक्रम सञ्चालनमा ल्याई स्वच्छ वातावरण कायम गर्ने, हरियाली कायम गर्ने, घरघरमा कम्पोष्टमल बनाई कौशीबालीको विकास गर्ने निर्णय गरेका छन् ।
त्यस्तै, ८० वर्ष पुगेका पुरुषलाई र ७५ पुगेका महिलालार्ई १२ हजार महानगर भत्ता दिने निर्णय पनि गरिएको महानगरपालिकाले जनाएको छ । यससँगै सूर्याेदयपूर्व नै फोहोर विसर्जन गर्ने, भूकमप्पीडितहरुलाई नयाँ भवन निर्माण गर्दा निशुल्क परामर्श सेवा र भवन निर्माण दस्तुर शुल्कमा शतप्रतिशत छुट गर्ने निर्णय पनि गरिएको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकालाई २४ सै घण्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्नको लागि आवश्यक पूर्वाधार र त्यसको विकासको कार्यक्रम थालनी गर्नै निर्णय पनि भएकको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले गरेका निर्णयहरुको पूर्ण विवरण यस्तो छ ।