arrow

किसानका लागि नयाँ कार्यक्रम ‘एकलिटर दूध ल्याउनुस्, थप एक रुपैयाँ अनुदान लैजानुस्’

logo
नारायण ढुङ्गाना,
प्रकाशित २०७४ जेठ १८ बिहिबार
Milk.jpg.jpeg

रत्ननगर (चितवन)। तपाईंको गाईभैँसीले कति दूध उत्पादन गर्छ ? पाँच लिटर, १० लिटर वा धेरै । बेच्ने पनि गर्नुहुन्छ होला ।

अझ व्यावसायिक रुपमा गाई पालेर दुग्ध उत्पादन गर्ने किसानले त दैनिक रुपमा ५०-६० लिटर देखि दुई तीन सय लिटर सम्म दूध उत्पादन गर्दै आएका होलान् । तपाईंले यो दूध बिक्री गरे वापत सहकारीले दिएको पैसा मात्रै थाप्नुहुन्थ्यो । अब तपाईंले प्रतिलिटर रु एकका दरले थप अनुदान सहयोग पाउनुहुने छ । यो प्रतिलिटर अतिरिक्त मूल्य हो ।

अब तपाईंले एक लिटर दूध उत्पादन गर्नुभयो भने एक रुपैयाँ अनुदान लैजान सक्नुहुन्छ । चितवनमा यो नयाँ कार्यक्रम सुरु भएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंले भने , “एकलिटर दूध ल्याउनुस्, थप एक रुपैयाँ लैजानुस् ।”

अनुदान लिएर व्यवसाय नगर्ने किसान देखिएकाले उत्पादनमा आधारित अनुदानको कार्यक्रम स्वरुप यहाँ नयाँ कार्यक्रम ल्याइएको हो । उनका अनुसार नेपालका १० जिल्लामा यो कार्यक्रम भर्खरै सुरु भएको छ । त्योमध्ये सबैभन्दा ठूलो कार्यक्रम चितवनमा छ । जिल्लाका २० सहकारीमा यो कार्यक्रम लागू भएको डा सेढाईंले बताए ।

सेढाईंले जिल्लामा यो कार्यक्रमका लागि  २ करोड ५० लाखभन्दा बढी रकम विनियोज भई आएको बताए । जिल्लाका सहकारीले  २ लाखदेखि १९ लाखसम्म उक्त कार्यक्रमअन्तर्गत अनुदान रकम पाएका छन् ।

केन्द्रबाट यो रकम सिधै सहकारीको खातामा आउँछ र सहकारीले किसानलाई वितरण गर्ने छ । उक्त रकम किसानले दूध उत्पादन गरेको लिटरको आधारमा सहकारीमार्फत नै वितरण गरिने छ ।

सहकारीमार्फत रकम वितरण हुने हुनाले सहकारीमा आबद्ध नभएका किसानले भने अनुदान पाउँदैनन् । चितवनको सबैभन्दा बढी परेवाश्वरी दुग्ध उत्पादक सहकारीले अनुदान पाएको छ । चितवनको भरतपुरमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले  १३ लाख ५० हजार अनुदान पाएको छ ।

“अनुदान आइसक्यो, अब किसानले उत्पादन गरेको दूध लिटरको आधारमा पैसा वितरण गर्नेर्छौं” अन्नपूर्ण सहकारीका अध्यक्ष भागीरथ तिमिल्सिना बताउछन् । तिमिल्सिनाले यो कार्यक्रमका लागि अथक प्रयास गरेका छन् ।

तिमिल्सिनाले अनुदान लिएर काम नै नगर्ने किसान भेटिएकाले उत्पादनका आधारमा अनुदान पाउनु ठूलो कुरा भएको बताए । जिल्ला दुग्ध उत्पादक कृषक समाज र चितवनका विभिन्न दुग्ध क्षेत्रमा काम गर्नेको प्रयासले यो कार्यक्रम जिल्लामा आएको हो ।

जिल्ला दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरे प्रतिलिटर  पाँच अनुदान अनिवार्य हुनुपर्छ, नत्र किसान यो व्यावसायबाट पलायन हुन सक्छ भन्छन् । किसानले अझै पनि लागतअनुसारको दूधको मूल्य नपाएको भन्दै उनले यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

जिल्लामा अहिले करिब साँढे दुई लाख लिटर दूध उत्पादन हुन्छ । नेपालमा दैनिक करिब १८ लाख लिटर दूध उत्पादन हुन्छ । अहिले नेपालमा दूधको उपभोग अझै कम रहेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

वृद्धवृद्धा र बटुकलाई दूध खुवाइयो

बिहिबार १७ औँ विश्व दूध दिवसको अवसरमा जिल्ला पशुसेवा कार्यालय चितवन, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी, जिल्ला दुग्ध उत्पादक कृषक समाज र जिल्ल्ला दुग्ध उत्पादक सहकारीले आज संयुक्तरुपमा देवघाटको गलेश्वर आश्रममा रहेका वृद्धवृद्धा र बटुकलाई दही र दूध खुवाएको छ ।

एक दिनको भोजन सेवासहित झन्डै २०० जनालाई दूध खुवाइएको समाजका अध्यक्ष आनन्द निउरेले बताए । सो क्रममा पशु चिकित्सक डा डिल्लीराम सेढाईंले दूधको उपभोग बढाउन चेतनामूलक कार्यक्रम आवश्यक भएको बताए । उनले दूधमा शरीरलाई चाहिने पोषकतत्व धेरैमात्रामा पाइने भएकाले दैनिक दूध सेवन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सात लाख मेट्रिक टन दूध उत्पादन हुनसके नेपाल यसमा आत्मनिर्भर हुनेछ । दुग्ध क्षेत्रको प्रवद्र्धन, आर्थिक र समाजिक रुपान्तरण भन्ने नारासहित मनाइएको दूध दिवसका अवसरमा नेपाल मासु र अन्डामा आत्मनिर्भर भएको तथा दूधमा आत्मनिर्भरतर्फ अगाडि बढ्दै गएको जनाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ