arrow

नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ महोत्सव हुने

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
bhulbhuley-jharna.png

काठमाडौं। नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन महोत्सव गर्न लागिएको हो ।

राजधानीबाट ३० किलोमिटर दूरीमा अवस्थित ककनी गाउँपालिका वडा नं ५ मा जेठ २६ र २७ मा महोत्सव हुन लागेको हो । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने सो महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० सहभागी हुने आयोजकले जानकारी दिएको छ ।  

“प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई आकर्षित गर्न महोत्सव गर्न लागिएको हो”–एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भने। सन् २०१३ मा पहिलो भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतीस्थित छहरे झरनामा दोस्रो महोत्सव गरेको थियो ।

एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ । सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।

नेपालका २२ बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाइएको छ । छाँगावरोहणका लागि पाँच हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार फुको झरना संसारकै सबैभन्दा उचाइमा रहेको छ ।

तेस्रो महोत्सवका सन्दर्भमा सातजना छाँगावरोहणका प्रशिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम दिइने छ ।  एसोसिएसनले विभिन्न सामाजिक सञ्जालमा नेपालमा छाँगावरोहणसम्बन्धी दक्षता प्रमाणित नभएका, सम्बन्धित निकायबाट इजाजत नलिएका र सङ्घले प्रमाणित नगरेका व्यक्ति तथा कम्पनीले छाँगावरोहण गर्ने-गराउने, झरनामा व्यक्तिगत स्वामित्व देखाउने र छाँगावरोहणसम्बन्धी तालिमको समेत आह्वान गरेको जानकारीमा आएको भन्दै त्यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ