वैशाख ३१ को निर्वाचनमा असहयोग गर्ने १६ काँग्रेस नेता कारबाहीमा
प्रकाशित २०७४ जेठ २२ सोमबार
494
Shares
सल्यान। गत वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका स्थानीय नेता कारबाहीमा परेका छन्। हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो।
कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म रहेका छन्। नेपाली काँग्रेसले छत्रेश्वरी गाउपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई नेपाली काँग्रेसको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली काँग्रेस सल्यानले जनाएको छ।
यस्तै, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा, खड्क केसी, शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र सावित्रा राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।
काँग्रेसले पार्टीलाई असहयोग गरेको भन्दै पाँचजना नेतालाई १५ दिने स्पष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरण सोधिनेमा पूर्व जिल्ला कार्यसमिति सदस्य, ध्रुव श्रेष्ठ र शारदा नगरपालिकाका नगर सभापति सचेत शाह रहेका छन्।
यस्तै, काँग्रेसले महाधिवेशन प्रतिनिधि श्यामनारायण रेग्मी, टीकाराम केसी र धु्रव श्रेष्ठलाई पनि १५ दिने स्पष्टीकरण सोध्ने तथा चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने जनाइएको छ।
यसअघि नेकपा (एमाले)ले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो। रासस