पोखरा लेखनाथका मेयरको कसमः ‘स्वागत, सम्मानमा सहभागी हुन्न’
प्रकाशित २०७४ जेठ २८ आइतबार
376
Shares
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भएको बताए ।
“तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो”, उनले भने – “आगामी दिन सम्मान र बधाईको सट्टा समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा जनताको कामसमेत प्रभावित भएको महसुस गरी आफूले यो घोषणा गरेको उनको भनाइ थियो ।
बधाई, शुभकामना, शुभेच्छाका साथै केही गुनासो भए राख्न दिउँसो ३ बजेपछि कार्यालयमै प्रमुखसँग भेट्ने व्यवस्था मिलाएको जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । रासस