arrow

जनप्रतिनिधिलाई उपभोक्ताको प्रश्न : 'ढुङ्गे युग'मा रहेको असनको मुहार नफेर्ने ?

असनको अस्तव्यस्तता हटाउने जिम्मेवारी महानगरकै काँधमा

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ जेठ २९ सोमबार
asan_FNL.jpg

काठमाडौं । उपत्यकाकै मुटु क्षेत्र मानिने बसन्तपुर नजिकै रहेको व्यस्त ठाउँको नाम हो असन । असन भन्ने वित्तिकै जो कोहीले कुरा झिकिहाल्छन् ‘व्यस्त र भीडभाड’हुने ठाउँ हो । असनको बसाई भने साह्रै साँघुरो । अस्तव्यस्त घर असरल्ल सरसामान । साँघुरा गल्लीमा मानिसको घुँइचो उस्तै ।

जहाँ काठमाडौंका स्थानीय मात्र नभई स्वदेशी, विदेशी सबै देखिन्छन् । किनमेल गर्नेको भीड लाग्छ । व्यापार गर्न बस्नेको पनि भीड हुन्छ । लाग्छ सँधै असनमा जात्रा हुँदो हो । व्यापारीलाई जहिले भ्याइ नभ्याई ।
आफुले खोजेका सामान भेटिने र किनमेल गर्न सजिलो हुने भएकाले असन सबैको रोजाइ बन्न पुगेको स्थानीय व्यापारी बताउँछन् । ग्राहक तान्ने अर्को आकर्षण हो होलसेल ।

तर, वर्षौँ वित्दापनि भीड व्यवस्थापन हुन सकेको छैन । अनेकन् सामान, घुम्ति गल्ली, त्यसमाथि मान्छेको भीड । व्यापारीहरु अव्यवस्थित ढंगले बस्दछन् । साँघुरो ठाउँमा अस्तव्यस्त सवारी साधन पार्किङ् अर्को समस्या बन्ने गरेको छ । किनमेलका लागि विख्यात असनमा ठूलो परिमाणमा सामान किन्नेहरु नै आउने भएकाले पनि सवारी साधन लिएर आउनेहरु बढी हुने गर्दछन् ।

यद्यपि, सवारी व्यवस्थापन गर्न सकिएको छैन । साँघुरो ठाउँमा दाँया, बाँयाबाट सवारी आउने वित्तिकै जाम हुन्छ । बाटो छिचोल्नै हम्मे । ओहोर दोहोर गर्नेलाई सास फेर्ने सकस हुन्छ । गन्तव्यमा पुग्न समय निकै खर्चिनु पर्दछ । यति सम्मकी असन किनमेल गर्न आउन पर्याप्त फुर्सद जुटाउनु पर्दछ । सवारी लिएर गए अर्को फसाद । निस्कनै हम्मे ।

बुढा पाकाले अहिले पनि असनलाई शहर जाने भनेर सम्झिन्छन् । काठमाडौँको पूरानो किनमेल गर्ने एकमात्र ठाउँ असन भएको बुढापाकाको भनाई छ । जसरी पहिले परिचित थियो, असन अहिले पनि उस्तै परिचित र व्यस्त पनि ।  न्यूरोड गेट अघि भेटिएकी अन्जना दाहाल असनको अस्तव्यस्तता कम गर्न सकिए राम्रो हुने बताउँछिन् ।

मैतीदेवी बस्ने उनले भनिन्, ‘स–साना पसल र साँघुरा गल्लीका कारण भीड छिचोल्न हम्मे पर्दछ । समय परिवर्तनसँगै व्यवस्था पनि परिवर्तन हुनु पर्ने हो । असन अझै असरल्ल छ । पैदल यात्री मात्रै ओहोरदोहोर गर्न मिल्ने खालका गल्लीमा सवारी साधन गुड्दा र ठूलो भारी ओसार्दा बाटो थुनिन्छ । निस्कनै मुस्किल पर्छ ।’  

असनका गल्लीमा पुटपात व्यापार गर्नेहरुको भीड नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले कुनै उपाय अबलम्बन नगरेको उपभोक्ताहरु बताउँछन् । दाहालले समेत भनिन्, ‘अनियन्त्रित पसल राख्नेहरुमाथि निगरानी राखेको देखिदैन । सवारी प्रवेश वा निकासको लागि पनि खासै पहल भएको पनि पाइँदैन । अनुमति विनाका पसल कति छन् भन्ने पनि यकिन गर्नु पर्ने थियो । व्यापारीहरु असनमा मात्रै किन बस्न रुचाउँछन् । राज्यले व्यापारीहरुको मनसायलाई पनि ख्याल गर्नु पर्ने हो ।’
यस्तै, चालक अनुमतिपत्र नभएकाहरुले समेत चोर बाटोका रुपमा असनका गल्ली नै प्रयोग गर्ने भएकाले पनि किनमेल गर्नेहरु जाम पीडित बन्ने गरेका छन् ।  

कतिपयलाई हतारो समेत हुने गरेको पाइन्छ, दाहाल भन्छिन्, ‘मूख्य बाटोमा जाम हुने र घुमाउरो हुने भन्दै धेरैले छोटो बाटो हिड्न खोज्दा पनि असन अस्तव्यस्त हुने गरेको छ ।’ आम नगरिकले समेत आफ्नो सुविधालाई मात्र हेर्ने गरेका छन् । आफ्ना कारणले सायौँ मानिसले सास्ती पाइरहेको कुरालाई ख्याल गर्दैैनन् ।

उनले थपिन्, ‘अब त काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि आएका छन् । स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारको नीति दुरदर्शी हुनै पर्दछ । असनको अस्तव्यस्तता हटाउन कि व्यापारीहरुको स्थानान्त्रण हुनु पर्दछ भने कि सवारी साधन नियन्त्रण वा अनियन्त्रित पुटपात पसललाई कडाई गर्नु परेको छ ।’ फुटपात पसल गरेर जिविकोपार्जन गर्नेहरुका लागि व्यवस्थित ठाउँ छुट्याइदिनु पर्दछ । सामान ट्रान्सपोर्ट र स्टोरहरुको व्यवस्थापनि पनि त्यसै अनुसार हुनु पर्दछ ।

असनमै भेटिएका अर्का एक उपभोक्ताले भने, ‘असन जस्तै सबै सामान पाउने र किनमेल गर्न सजिलो हुने स्थानहरु बनाइनु पर्दछ । पुरानो बजार, त्यसमाथि मक्किएका घर, साँघुरा गल्ली । गोरखा भूकम्पजस्तो भूकम्प आयो भने पनि जोखिमयुक्त क्षेत्र हो यो । केही गरी आगलागी भए पनि ठूलो नोक्सान हुन्छ । त्यसलाई पनि हामीले ख्याल गर्नु पर्छ ।’ काठमाडौंमा पीउने पानीको त्यसै हाहाकार छ । आगलागी भएको खण्डमा तत्काल नियन्त्रण गर्न यस्तो अस्तव्यस्त ठाउँमा निकै कठिनाई हुन्छ ।’

जुनसुकै बेला जे पनि पर्न सक्ने भएकाले यसबारे राज्यले बेलैमा सोच्नु पर्दछ । अब बन्ने स्थानीय सरकारले यसको व्यवस्थापनलाई प्राथमिकतामा राख्नु पर्छ, उनले भनेका छन् । काठमाडौंको पहिलो सहर अब ढुंगे युग जस्तो हुनु भएन । नाम नलेख्नु भनेका उनले प्रश्न गर्दै भने, ‘अब पनि असनको मुहार नफेर्ने ?  काठमाडौं महानगरको ध्यान जानै पर्नेमा उनको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ