arrow

३३ केजी सुन पक्रिएको ५ महिनामा के-के भयो विमानस्थल भन्सारमा सुधार ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असार १ बिहिबार
TIA-custom-1.jpg.jpeg

काठमाडौं । जेठ २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा बाहिरबाट अबैधरुपमा ल्याईएको सुन सहित तस्करका नाईके पक्राउ परेको ५ महिना पुगेको छ । गत पुष २१ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेपछि सबैले त्यतिबेला विमानस्थल भन्सारका कर्मचारीहरु र विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नै यससँग जोडेर विभिन्न आरोपहरु लगाउने गरेका थिए । 

यति ठूलो परिणाममा अबैध सुन विमानस्थलबाट बाहिर निकाल्न सकिन्छ भने हाम्रो विमानस्थल भन्सार कार्यालयले कस्तो चेकजाँच गर्छ त ? यो प्रश्न त्यतिबेला पनि धेरैले सोध्ने गरेको प्रश्न हो । गल्ती हुनु ठूलो कुरा होईन कि गल्ती भएपछि त्यसलाई मनन गरेर सो को सुधार तर्फ प्रभावकारी काम गर्नु महत्पूर्ण कुरा हो । तर, भन्सारले उक्त सुनकाण्ड पछि आफ्नो आन्तरिक व्यवस्थापनमा कस्तो सुधार गर्यो त ? अब यस्ता कमजोरी दोहोरिन नदिन विमानस्थल भन्सारले कस्तो रणनीति अपनाएको छ त ? हामीले यही प्रश्न विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटासँग सोध्यौं ।

सुनकाण्ड भन्दा अघिदेखि नै भन्सारप्रति आम मानिसको सोचाईमा परिवर्तन हुने गरी यसभित्र शुद्धीकरण गर्न विविध कामको थालनी गरिरहेको बताउने सापकोटा आएको केही महिनामा नै विमानस्थल भन्सारमा यति ठूलो घटना घट्यो । उनी भन्छन्  ुसो घटना घट्नु अघि नै मैले सुधारका केही प्रयासहरु त सुरु गरिसकेको थिएँ । तर, एक्कासी त्यस्तो घटना आफ्नै कार्यकालमा त्यो पनि त्यहाँ आएको केही महिनाभित्रै घटेपछि म झनै दबाबमा परेँ । त्यसपछि मेरो काम झनै रफ्तारमा अघि बढ्यो ।ु त्यसपछि आफूले त्यसभित्र बदमासी हुनसक्ने क्षेत्र पहिचान गरी त्यसको रोकथामको लागि केही काम गरेको सापकोटा बताउँछन् । 

सापकोटाका अनुसार उनले सबैभन्दा पहिले बस्तुको संवेदनशीलता पहिचान गर्ने लेजर मेसिनको क्षेत्रमा नयाँ व्यवस्था लागू गरे । उनले लेजर मेसिन राखिएको ठाउँमा सामान चेकजाँच गर्नको लागि त्यहाँका प्राविधिक मात्रै नभई भन्सारका मूल कर्मचारी (लेजर मेसिनमा राखिने कर्मचारी स्थायी भएपनि उनीहरु लोकसेवा पास गरेर आएका मूल कर्मचारीहरु होईनन्) लाई खटाउन थालियो । त्यही लेजर मेसिनले गरेको एक्सरेको आधारमा सामानलाई चेकजाँच गर्नुपर्ने या नपर्ने पहिचान गरिन्छ । सो क्षेत्रमा लामो समयसम्म सरुवा नभई बसेका कर्मचारीहरु जो सोही मेसिन सञ्चालनको लागि भनेर नियुक्त गरिएका हुन् र उनीहरुलाई अन्यत्र सरुवा गर्न पनि सकिने अवस्था छैन । त्यस्ता कर्मचारीले नै बदमासी गर्नसक्ने देखेर उनीहरुसँगै भन्सारका मूल कर्मचारी समेत खटाउन थालिएको छ । यसले गर्दा भन्सारको जोखिमको मात्रा धेरै घटाएको भन्सार कार्यालयको विश्वास छ । 

दोस्रो नम्बरमा अहिले धावनमार्गदेखि कार्गो गोदामसम्म आउने भित्री बाटोमा भन्सारका सवारी साधनहरु प्रवेशमा पूर्ण प्रतिबन्ध लगाईएको छ । भन्सारको आन्तरिक सामग्री भनेर सुरक्षाकर्मीको चेकजाँचबाट बच्नको लागि सेटिङमा प्रतिबन्धित सामग्रीहरु सो बाटो प्रयोग गरेर ल्याउनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै सो बाटो बन्द गरिदिएको भन्सार कार्यालयले जनाएको छ । अहिले भन्सारका कर्मचारीसँगै कार्यालय प्रमुख समेत बाहिरको बाटो हुँदै भित्रबाहिर गर्ने गरेका छन् । 

तेस्रो नम्बरमा संवेदनशील क्षेत्रमा २५ वटा थप सिसिटिभी जडान गरी कार्यालयप्रमुखको कार्यकक्षबाट यात्रु जाँचपास शाखा तथा कार्गोमा प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था गरिएको छ । यसले गर्दा २४ घण्टै कर्मचारीहरु निगरानीमा रहने विश्वास सापकोटाको छ । यससँगै कार्यालयप्रमुखको दैनिक दुईपटकसम्म छड्के चेकजाँच हुनेगरेको छ र कर्मचारीहरुलाई कुर्सीमा झोक्राएर बस्न र हात बाँधेर नबस्न पनि निर्देशन दिईएको छ । 

त्यस्तै, चौथो नम्बरमा कार्गो सेवा ५ बजेपछि पनि सञ्चालन गरिँदा रातीको समयमा कर्मचारीहरुको समेतमिलेमतोमा गैरकानूनी काम हुनेगरेको गुनासाहरु बढीरहेको बेलामा कर्मचारीहरुले साँझ ५ बजेपछि कार्गो बन्द गर्ने व्यवस्था गरिएको छ । कार्गो जाँचपासको पनि प्रत्यक्ष रुपमा सिसिटिभीबाट निगरानी गर्न सकिने व्यवस्था मिलाईएको छ । भन्सार अधिकृत, जाँचकीहरु र एक्सरेका कर्मचारीहरुलाई उनीहरुले सोही दिन मात्रै जानकारी पाउनेगरी समय, स्थान र जिम्मेवारी तोकी काममा खटाईँदै आएको छ । 

यसरी आर्थिक अनियमितता हुनेमध्ये मुख्य अड्डाको रुपमा बदनामी कमाएको भन्सारमा पछिल्ला समय आएका कार्यालयप्रमुखहरुले यसको व्यवस्थापनको क्षेत्रमा दिलोज्यान दिएर काम गरिरहेको देखिन्छ । तरपनि त्यहाँका केही सीमित कर्मचारीहरुको कारण भन्सारको सधैं बदनाम भईरहेको भन्सारकै कर्मचारीहरु बताउँछन् । मनोविज्ञानमा समेत राम्रो दख्खल भएका अहिलेका कार्यालयप्रमुख सापकोटाले यस्ता सुधारका कामहरु आफूले पहिलेदेखि नै सुरु गरेको भएपनि विविध चुनौतीहरुको सामना गरिरहनुपरेको गुनासो गरे । सीमित प्राविधिक स्रोत, दक्ष कर्मचारीहरुको अभाव, पर्याप्त अधिकारको अभावकाकारण अझैपनि धेरै सुधारका कामहरु सम्पन्न गर्न नसकेको उनले गुनासो गरे । अत्याधुनिक प्राविधि भित्र्याउने क्रम जारी रहेको भन्दै त्यस्ता प्रविधिहरु आएपछि भन्सारभित्रका वेथिति अझै कम भएर जाने उनको विश्वास छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ