arrow

हिल्टन होटल सम्बन्धी मुद्दा फेरि व्यूँतियो, महानगरका कर्मचारी अख्तियारमा

logo
प्रकाशित २०७४ असार १ बिहिबार
Hilton-Hotel.jpeg

काठमाडौं । गत पौष २४ गते आधा बाटो नै भत्काउने गरी जग भासिएको नक्सालको हिल्टन होटल सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि सक्रियता देखाएको छ । केही महिना साम्य बसेको अख्तियारले महानगरका सम्बन्धित कर्मचारीहरुलाई बोलाएर हिल्टन होटल निर्माण कम्पनी जगदम्बा हस्पिटालिटी माथिको कारवाही कहाँ पुग्यो भनेर ताकेता गरेपछि अख्तियारको सक्रियता देखिएको हो ।

हिल्टन होटलको जग भासिनुमा निर्माण कम्पनीसँगै महानगरको नक्सा स्वीकृत गर्ने अधिकारीको समेत कमजोरी रहेको आरोप लगाउँदै सोही समयमा महानगरका सम्बन्धित कर्मचारीहरुलाई छलफलका लागि बोलाएको अख्तियारले मंगलबार फेरि महानगरका सम्बन्धित कर्मचारीहरुलाई बोलाएर छलफल गरेको हो । 

अख्तियार स्रोतका अनुसार अहिलेसम्म अनौपचारिक छलफल मात्रै गरिरहेको अख्तियारले अब भने उनीहरुलाई बयानकै लागि बोलाउने तयारी गरिरहेको पनि अख्तियार स्रोतले जानकारी दिएको छ । छलफलमा सडक भत्काउने र नजिकैका घरहरुलाई पनि जोखिममा पार्ने जगदम्बा हस्पिटालिटीलाई किन कारबाही नगरिएको भनेर सोधिएको थियो । 

तर, बैठकमा सहभागी महानगरका भवन निर्माण इजाजत महाशाखा प्रमुख रामबहादुर थापाले अख्तियारले हिल्टनको जग भासिँदा क्षति पुगेको घरधनीलाई क्षतिपूर्ति किन नदिएको जस्ता विषयमा समान्य जिज्ञासा राखिएको प्रतिक्रिया दिए । उनले आफूहरुले पनि सो विषय टुंगोमा पुग्ने चरणमा रहेको भन्दै सो सम्बन्धी फाईलको कारबाही अगाडि नबढाउन आग्रह गरिएको पनि बताए ।

उनले क्षति पुगेको गोयलको घर जगदम्बा हस्पिटालिटीले बनाईदिने सहमति भएको भएपनि घर बनाईदिँदासम्म डेरामा बस्ने भाडाको विषयमा दुई पक्षबीच कुरा नमिलेको बताउँदै त्यो कुरा मिलेपछि यो विषय त्यसै सकिने विश्वास व्यक्त गरे । अख्तियारले छलफलको लागि भवन निर्माण इजाजत विभागका विभागीय प्रमुख रविन्द्र पौडेल सहित महाशाखा प्रमुखद्वय थापा र सुरज शाक्यलाई बोलाईएको थियो । 


निर्माण सम्पन्न प्रमाणपत्रमा सेटिङै सेटिङ !
उता, महानगरपालिकाबाट महानगरभित्र निर्माण भएका भवनको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्दा गोप्य सेटिङ हुनेगरेको आरोप लाग्ने गरेको छ । प्रक्रिया विग्रिएर आएका फाईलहरुलाई गोप्यरुपमा छुट्टै दर्ता चलानी गरेर फाईलको प्रकृती अनुसार १५ हजारदेखि २५ लाखसम्म अतिरिक्त शुल्क लिने गरेको आरोप लाग्ने गरेको हो । 

महाशाखाप्रमुख थापाको संयोजकत्वमा रहेको पाँच सदस्यीय सो समितिले केही वर्ष अघि अख्तियारकै केही अनुसन्धान अधिकृतको समेत सेटिङमा  प्रक्रिया नपुगेको घरलाई निर्माणसम्पन्न प्रक्रिया दिएकोले अख्तियारले समेत यस फाईलमा आँखा नलगाएको आरोप समेत महानगर स्रोतले जानकारी दिएको छ । महानगरका अधिकारीहरु भन्ने गर्छन् कि यदी सो समितिले प्रतिवेदनहरु छानविन गर्ने हो भने अधिकांश फाईलमा यस्ता गल्तीहरु केही न केही रहेको देखिन्छ । एक पटक अख्तियारले फाईलहरु माग्दा तीन दर्जन भन्दा बढी फाईलहरु हराएको भनेर त्यसै टारिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ