arrow

विमानस्थल भन्सारमा थपिँदै नयाँ प्रविधि, डेढ महिनामा 'रिमार्केवल चेन्च'

logo
प्रकाशित २०७४ असार ४ आइतबार
TIA-custom-1.jpg.jpeg

काठमाडौं । अबको करिब डेढ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा केही नयाँ प्रविधिहरु थपिने भएको छ । तस्करीको मुख्य अखडा बनेको भन्ने आरोप लागिरहने भन्सार विभाग अन्तर्गत्को सो अड्डाका लागि भनेर होल बडी स्क्यानर सहित मेटल स्कयानर मेसिन पनि अबको डेढ महिनाभित्र जडान गरिसक्ने तयारी भईरहेको छ । 

यसरी नयाँ प्रविधि जडानगरेसँगै अबको डेढ महिना भित्रमा नै विमानस्थल भन्सारमा उल्लेखनीय परिवर्तन हुने विश्वास विमानस्थल भन्सार कार्यालयले गरेको छ । भन्सार विभाग अन्तर्गत्को सो कार्यालयका अनुसार अहिले मलेसियाबाट ल्याईएको होलबडी स्क्यानर मेसिन कलकत्ता बन्दर्गाहमा आईसकेको छ । यो अबको १५ दिनभित्रमा जडान गरिसक्ने तयारी भईरहेको कार्यालयका प्रमुख नारायण सापकोटाले जानकारी दिए । 

उनले अब भन्सारमा अत्याधुनिक प्रविधिको होलबडी स्क्यानर मेसिन सहितका प्रविधिहरु जडान गरिसकेपछि विमानस्थल भन्सार कार्यालयमा उल्लेखनीय परिवर्तन हुने दाबी गरे । '२ वटा होलबडी स्क्यानर मेसिन कोलकत्ता आईसकेको छ ।' उनले भने 'यी प्रविधि जडान गरिसकेपछि विमानस्थल भन्सारमा रिमार्केवल चेन्ज हुन्छ ।'

उनले बडी स्क्यानर मेसिनले प्रतिबन्धित सामग्रीहरु शरीरभित्र लुकाएर ल्याएको भएपनि सहजै पत्ता लगाउन सकिने भएकोले अब कसैले पनि प्रतिबन्धित सामग्री प्रवेश गराउन नसक्ने बताए । निकै ठूलो मेसिन ल्याउन ठूलै जहाज आवश्यक परेकोले मेटल एक्सरे मेसिन जर्मनीबाट नेपाल आईपुग्न भने अझै डेढ महिना जति लाग्ने बताए । अबको डेढ महिनाभित्र सबै काम सम्पन्न गरिसक्ने उनको बुझाई थियो ।   

झण्डै ६ महिना पहिले यसको लागि टेण्डर आह्वान गरिएको भएपनि एउटै कम्पनीले टेण्डर भरेको र त्यसमा पनि तोकिए बमोजिको सामानको प्रस्ताव पेश नगरेपछि झण्डै तीन महिना अघि भन्सार विभागले सोही मेसिन किन्नको लागि दोस्रो पटक टेण्डर आह्वान गर्नुपरेको थियो । त्यसपछि भने मलेसियन कम्पनी र जर्मन कम्पनीले होल बडी स्क्यानर मेसिन र मेटल स्क्यानर मेसिनको लागि टेण्डर पारेका थिए । दोस्रो पटक टेण्डर आह्वान गर्नुपरेकोले यसको जडानको लागि केही ढिला भएको विभागका प्रवक्ता कूलराज ज्ञवालीले जानकारी दिए ।

जनशक्ति यस अघि नै फिट
प्रविधिले जतिसुकै अबैध पदार्थहरु ल्याएको थाहा पाएपनि त्यहाँका कर्मचारीहरुले पक्रिएनन् भने प्रविधिले मात्रै पनि तस्कर समाउन सजिलो छैन । यही बुझेर नै विमानस्थल भन्सार कार्यालयले यस अघिदेखि नै लामो समयदेखि एकै ठाउँमा रहेका स्क्यानिङ  मेसिनका प्राविधिकहरुको कारण पटकपटक गल्ती दोहोरिएको भन्दै अहिले कार्यालयले त्यहाँ भन्सारका मूल कर्मचारीहरु समेत राख्न थालिसकेको छ । 

अहिले एक्सरे मेसिनमा मात्रै विभिन्न समयमा दिनभरी कूल १८ जनाले काम गर्ने गरेका छन् । उनीहरुलाई कहिले कता त कहिले कता खटिने गरी जिम्मेवारी तोक्ने गरिएको छ । पुरुषहरु भन्दा महिलाहरु बढी इमान्दार हुने भन्दै महिलाहरुलाई विशेषगरी सो क्षेत्रमा राखिएको छ । उनीहरु सहजै तस्करहरुको प्रलोभनमा नपर्ने भएकोले त्यस्तो संवेदनशील क्षेत्रमा उनीहरुलाई खटाउने गरिएको कार्यालयले जनाएको छ । 

सापकोटाले यस अघि नै एक्सरे मेसिनमा भन्सारका मूल कर्मचारीहरुलाई पनि बैज्ञानिक ढंगले परिचालन गरिएकोले अब नयाँ प्रविधि भित्रिएपछि भन्सारमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरे । उनले आफू कार्यालयप्रमुख बनेर आएपछि स्क्यानर मेसिनमा लामो समयदेखि एउटै प्राविधिक बसिरहने गरेकोमा भन्सारका प्रशासन तर्फका मूल कर्मचारीलाई पनि एक्सरे मेसिनको तालिम दिएर त्यहाँ खटाउन थालेको बताउँछन् । 

कूल ११ करोड भन्दा बढी लगानीमा ल्याउन लागिएको सो मेसिनले यात्रु तथा कार्गाे मार्फत् ल्याईएका सामानमा पनि प्रतिवन्धित सामग्रीहरु मिसाईएको छ या छैन भनेर सहजै पत्ता लगाउन सक्ने शक्तिहुने भएकोले अब पहिलेजस्तो सबै झोला खोलेर हेरिरहनु पर्दैन र यसबाट तस्करहरु उम्किने सम्भावना पनि ज्यादै न्यून हुने कार्यालयको विश्वास छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ