arrow

नेपालमै पहिलोपल्ट पेमेन्ट गेटवे कम्पनीमा इ-सेवाले पायो लाइसेन्स

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
esewa_news.jpg

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्र बैंकले लाइसेन्स् प्रदान गरेको  प्रा लिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले जानकारी दिए । 

राष्ट्रबैंकले इसेवालाई राष्ट्रबैंक भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रबैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी भुक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फर गर्ने) कार्य गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स् प्रदान गरेको हो । यो लाईसेन्स प्राप्त गरेपछि पनि पुराना सेवामा केही परिवर्तन नहुने भएपनि यो लाईसेन्स पाएपछि सेवाग्राहीहरुमा थप विश्वास बढ्ने अलिले जानकारी दिए ।  

राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भएपछि अलीले भने “हामीले अबदेखि अझ व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई तिब्र रूपामा विकास गर्छौ, क्यासलेस कारोबार बनाउने राष्ट्रबैंकको नीतिलाई सफल बनाउने गरी हाम्रो सेवाको पहुँच बढाउँछौ ।” इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो ।  विगत सात वर्षदेखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर २५ हजार बढी जोन पोइन्ट रहेका छन् । 

राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै मुलुकभित्र रेमिट्यान्स् कारोबार समेत सुरू गर्ने तयारी गरेको कार्यकारी अधिकृत अलीको भनाई छ । इसेवाको मोबाईल एप्स् डाउनलोड गरी इसेवा चलाउनेको संख्या डेढ लाख छ भने इन्टरनेट मार्फत् इसेवा चलाउनेको संख्या ८ लाख रहेको छ । यसैगरी जोन पोइन्टमार्फत् अप्रत्यक्ष रूपमा इसेवा प्रयोग गर्नेको संख्या ५० लाख नाघेको छ । इसेवा मार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स्, बस टिकट, मुभी टिकट खरिद जस्ता सय भन्दा बढि सुविधा लिन सकिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ