गाईघाट । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् ।
काठमाडाँैको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडित युवाका दाजु होमराज राईले जानकारी दिएका छन् ।
प्रतिव्यक्ति रु एक लाखका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले काठमाडौंको मुख्य म्यानपावर साउनलाइन्स मार्फत साउदी पठाएपनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र अहिले बिजोग अवस्थामा होटलमा बस्नु परिरहेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिए ।
म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताएका छन् । रासस