arrow

विमानस्थल भन्सारमा जोडियो 'तस्करी रोक्ने मेसिन'

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
leger_mechine_bhansar.jpg


काठमाडौं । ''नेपालको भन्सार यस्तै हो'' भनेर सरकारले प्रतिबन्ध लगाएको कुनैपनि सामान नेपाल ल्याउँदै हुनुहुन्छ ? याद गर्नुस् ! अहिलेको विमानस्थल भन्सार पहिलेको जस्तो कर्मचारीको भरोसामा चल्ने अड्डामा सीमित छैन । यो पनि अन्यत्रको जस्तै प्रविधिमैत्री बन्नेबाटोमा धेरै खुड्किलो चढिरकेको छ ।  परम्परागत ढर्राबाट चल्ने भन्सार सम्झिएर त्यस्ता समान ल्याउँदै हुनुहुन्छ भने तपाईलाई भन्सारका कर्मचारीहरुले सीधै कारबाही या सीधै प्रहरीको जिम्मा पनि लगाईदिन सक्छन् । 

तस्करीको मुख्य अखडा बनेको भन्ने आरोप लागिरहने भन्सार विभाग अन्तर्गत् सो अड्डाका कर्मचारीहरु पनि अहिले धेरै हदसम्म सक्रिय रुपमा काममा खटिन थालेको देखिन्छ । कर्मचारीहरुको सक्रियतासँगै कार्यालयले अहिले प्रविधिलाई पनि बढावा दिएको छ । जसका कारण अब कर्मचारीहरुले नियोजित रुपमा बदमासी नगरेको खण्डमा सरकारबाट प्रतिबन्धित सामान विमानस्थल भन्सारबाट ओसारपसार गर्न असम्भव नै रहेको दाबी कार्यालयको छ । 

यस अघिसम्मको स्थितीलाई नियाल्ने हो भने कुनैपनि यात्रुले ल्याएको समान भन्सार कार्यालयका जाँचकीहरुको सहयोगमा सबै खोतल्ने चलन थियो । यस्तो गर्दा असल नियत भएकाहरुले पनि सबैतिर त्यस्ता सामानको पहिचान गर्न सक्ने अवस्था थिएन भने आफूले देख्न नसकेको भनेर जाँचकीले कुनै प्रतिबन्धित सामग्री छाडिदिनसक्ने सम्भावना समेत रहेको देखेपछि कार्यालयको पहलमा भन्सार विभागले सो कार्यालयमा केही प्रविधिहरु थप गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुरुप अहिले ८ वटा लेजर र होलबडी स्क्यानर सहितको मेसिन ल्याईसकिएको छ । सो मध्ये एउटा मेटल स्क्यानिङ गर्ने लेजर मेसिनको भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले बिहीबार उद्घाटन गरे भने होलबडी क्यानर एक सातासम्ममा जडान गरिसक्ने तयारी भईरहेको कार्यालयका प्रमुख नारायण सापकोटाले जानकारी दिए । एउटा कार्गो मेसिन भने ठूलो आकारको हुने भएकोले त्यो आइपुग्नै केही दिन लाग्ने कार्यालयले जानकारी दिएको छ । 

कसरी रोक्छ प्रविधिले तस्करी 
लेजर मेसिन जडानगर्नुपूर्व पनि भन्सार विभागले प्रतिबन्धित पदार्थलाई त्यसै छाड्ने गरेको त थिएन । तर, पनि पहिले कर्मचारीहरु आफैंले सबै सामग्री खोलेर हेर्दा धेरै समय लाग्ने र छिटोछिटो सामानको जाँच गर्दा प्रतिबन्धित सामान ल्याउनेले पनि उन्मुक्ति पाउने सम्भावना थियो । त्यस्तै, कर्मचारीहरु आफैंले पनि थाहा नपाएको बाहाना बनाएर सेटिङमा बदमासी गर्ने सम्भावना पनि त्यत्तिकै थिया । तर, अब यी प्रविधिहरु जडान भईसकेपछि कर्मचारीहरुले नियोजित रुपमा बदमासी गरेनन् भने माथि उल्लेख गरिएकोजस्तो समस्या नदोहोरिने विश्वास सापकोटाको छ । यो मेसिन जडान गरिसकेपछि शतप्रतिशत तस्करी रोकिन्छ नै भनेर भन्न त नसकिएला सापकोटाले भने तर यसले ९५ प्रतिशत भन्दा बढी तस्करी भने नियन्त्रण हुने । यसरी नयाँ प्रविधि जडान भएसँगै अब भन्सारमा उल्लेखनीय परिवर्तन भईसकेको उनले बताए । 

कार्यालयका अनुसार बडी स्क्यानर मेसिनले प्रतिबन्धित सामग्रीहरु शरीरभित्र लुकाएर ल्याएको भएपनि सहजै पत्ता लगाउन सकिने भएकोले अब कसैले पनि प्रतिबन्धित सामग्री प्रवेश गराउन सक्दैनन्। निकै ठूलो मेसिन ल्याउन ठूलै जहाज आवश्यक परेकोले मेटल एक्सरे मेसिन जर्मनीबाट नेपाल आईपुग्न यो महिनाको अन्तिमसम्म लाग्ने उनको अनुमान थियो । 

झण्डै ६ महिना पहिले यसको लागि टेण्डर आह्वान गरिएको भएपनि एउटै कम्पनीले टेण्डर भरेको र त्यसमा पनि तोकिए बमोजिको सामानको प्रस्ताव पेश नगरेपछि झण्डै तीन महिना अघि भन्सार विभागले सोही मेसिन किन्नको लागि दोस्रो पटक टेण्डर आह्वान गर्नुपरेको थियो । त्यसपछि भने मलेसियन कम्पनी र जर्मन कम्पनीले होल बडी स्क्यानर मेसिन र मेटल स्क्यानर मेसिनको लागि टेण्डर पारेका थिए । दोस्रो पटक टेण्डर आह्वान गर्नुपरेकोले यसको जडानको लागि केही ढिला भएको विभागका प्रवक्ता कूलराज ज्ञवालीले जानकारी दिए ।

कसरी पत्ता लगाउँछ मेसिनले तस्करी 
उदाहरणको लागि अब तपाईले विदेशबाट कुनै सामानभित्र प्रतिबन्धित सामान लुकाएर ल्याएको छ कसैले भने त्यो मेसिनमा कालो धब्बा देखिन्छ । तस्वीरमा देखिएको जस्तै कालो धब्बा देखिएको छ भने त्यसमा प्रतिबन्धित सामान रहेको बुझिन्छ । मेसिन जडान गरेकै दिन तस्वीरमा देखिएको मोटर कार्टुनभित्र रहेको भएपनि कार्टुनको तस्वीरमा कालो धब्बा देखिएपछि त्यो सामानको प्याकिङ खोलेर यसको सबै भित्री पार्टस्हरु समेत हेरिएको थियो । 

कार्यालयका अनुसार सुन सबैभन्दा बढी घनत्व भएको बस्तु हो । फलामको भन्दा चाँदीको बढी र चाँदीको भन्दा सुनको बढी घनत्व हुन्छ । त्यसैले यो मेसिनले पनि घनत्वको आधारमा प्रतिबन्धित सामानको पहिचान गर्ने गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ