arrow

विद्यासुन्दरमाथि राजश्व दृष्टि : फिल्म हल व्यवसायीलाई ल्याउन सक्लान् करको दायरामा ? 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असार १८ आइतबार
vidya-sundar-shakya.jpg

काठमाडौं। २० वर्षसम्म जनप्रतिनिधिविहीन बनेको काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिलाई स्वागत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलन तर्फ केही सुखद् समाचार त सुनाएको छ । महानगरले उठाउने करको अधिकांश शीर्षकमा आफूले लिएको लक्ष्यलाई एक महिना अगाडि नै पूरा गरिसकेको महानगरको कर्मचारी प्रशासनले केही शीर्षकमा उठाईने रकमको लागि भने जनप्रतिनिधिहरुलाई नै कुरेर बस्नु परेको छ। महानगरभित्र केही यस्ता शीर्षकहरु छुट्टाईएका छन् जसमा उठाउनुपर्ने कर कर्मचारी प्रशासनले जतिसुकै प्रयास गरेपनि उठाउन सम्भव भएन । अब नवनिर्वाचित जनप्रतिनिधिहरुले ठूलै हिम्मत नगरी यस्ता करदाताहरुलाई करको दायरामा ल्याउन सक्ने अवस्था देखिँदैन । काठमाडौं महानगरपालिकालाई सबैभन्दा मनोरञ्जन कर अहिलेसम्म सबैभन्दा टाउको दुखाईको विषय बनेको छ । 

राजनीतिक रुपमा पहुँचवालाहरुको जमात रहेको मनोरञ्जनप्रदायक क्षेत्रका करदाताहरु कहिलै कर पनि तिर्दैनन् र महानगरले एक्सन लिन खोज्यो भने राजनीतिक आश्रयको खोजीमा लागि हाल्छन् । यो शीर्षकमा अहिले २५ लाख रुपैयाँ वार्षिक महानगरलाई घाटा लागिरहेको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । अहिलेसम्मको उनीहरुको बम्यौताको कुरा गर्ने हो भने त यो करोडौंमा आउँछ । उनले कर्मचारी प्रशासनले पटकपटक ताकेता गर्दा पनि यो रकम उठाउन नसकेको बताए । 

त्यस्तै, महानगरपालिकाको दोस्रो टाउको दुखाईको विषय बनेको छ सवारी कर । यो वर्ष २० लाखको हाराहारीमा उठेको यो शीर्षकको करमा अनुमानित रुपमा हेर्दा थप २ करोड रुपैयाँ महानगरलाई वार्षिक घाटा लागिरहेको छ । यसलाई पनि व्यवस्थितगर्न नसक्दा अधिकांशले सवारी कर महानगरलाई तिर्ने गरेका छैनन् । मनोरञ्जन कर उठाउनको लागि अघिल्लो आर्थिक वर्षको जेठ महिनामा महानगरपालिकाको राजश्व विभागले मनोरञ्जन कर नतिर्ने दर्जन बढी सिनेमा घरहरुलाई कर तिर्न आग्रह गर्दै पत्र काट्यो । त्यतिबेला केही सिनेमा घरहरुले कर तिर्ने संकेत देखाए तर कर कसैले पनि तिरेनन् । 

चालू आर्थिक वर्षको पहिलो ११ महिनामा महानगरपालिकाले मनोरञ्जन कर बापत एक रुपैयाँ पनि पाएन । जव कि महानगरपालिका भित्र दर्जनौ सिनेमा घरहरु छन् । आधा दर्जन बढी नाट्यघरहरु छन् । समयसमयमा कन्सर्टहरु हुन्छन् र यस्तै अन्य मनोरञ्जन कर उठाउने अरु शीर्षक पनि छन् । तर, किन मनोरञ्जन कर शून्य भयो ? राजश्व विभाग यसमा आफूहरु आजित भएर छाडेको बताउँछ । अब कर्मचारी प्रशासनले नसकेको यो शीर्षकको कर उठाउन जनप्रतिनिधि सफल होलान् त ? सबैको आशा यतिबेला विद्यासुन्दर शाक्य नेतृत्वको महानगर टिममाथि रहेको छ । 

यति मात्रै नभएर करको दायरा बाहिर रहेका कैयौं घरधनीहरुलाई करको दायरामा ल्याउनु, विभिन्न किसिमले घरको तिर्नुपर्ने भन्दा कम बहाल कर तिर्ने लगायतका राजश्व चुहावटका विभिन्न बाटोहरुलाई टाल्ने जिम्मेवारी पनि टिम महानगरमाथि देखिन्छ । यस विषयमा महानगरका जनप्रतिनिधिहरुपनि सचेत नभएका होईनन् । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य अब महानगरपालिकालाई कुनैपनि शीर्षकमा घाटा नलाग्ने दाबी गर्छन् । अहिले महानगरको बजेट बनाउने काम चलिरहेको भन्दै प्रमुख शाक्यले मनोरञ्जन, सवारी कर लगायतका विभिन्न शीर्षकहरुमा उठ्न नसकेको कर उठाउने गरी नीतिगत सुधार गर्ने र त्यसलाई कडाईका साथ लागू गर्ने बताउँछन् । आईतबार हाम्राकुरासँग कुरा गर्दै प्रमुख शाक्यले आफूहरुले महानगरपालिकाले पाउने कुनकुन शीर्षकमा महानगरलाई घाटा लागिरहेको छ भन्ने विषयमा पहिचान गरिरहेको बताउँदै त्यस्ता कमजोरी हटाएर महानगरपालिकाको राजश्व रकम बढाउनको लागि काम गरिरहेको बताए । 

यो वर्षको विवरण : केहीमा सुधार, मनोरञ्जन करमा शून्य
चालू आर्थिक वर्षको जेठ महिनासम्मको विवरण अनुसार सबैभन्दा बढी ६२ करोड ४९ लाख ७० हजार २ सय ९२ रुपैयाँ कर घरजग्गा करको शीर्षकमा महानगरपालिकाले उठाएको छ । काठमाडौं महानगरपालिका भित्रका घरधनीहरुले तिर्ने घरजग्गा कर पछि सबैभन्दा  बढी नक्सापास शीर्षकमा ३२ करोड ११ लाख ३८ हजार ८ सय ९२ रुपैयाँ नक्सापासको शीर्षकमा महानगरपलिकाले उठाएको छ । यी दुबै लक्ष्यको तुलनामा बढी प्रगति हो । 

महानगरको चालू आवको पहिलो ११ महिनाको कूल आन्तरिक आय १ अर्ब ६३ करोड ६९ लाख २७ हजार दुई सय ४७ रुपैयाँ रहेको छ भने अनुदान शीर्षकमा ६९ करोड ८७ लाख चार हजार सात सय ६ रुपैयाँ महानगरपालिकाको कोषमा जम्मा भएको छ । यो वर्षको आन्तरिक आयतर्फ महानगरको सक्रियता र अथक प्रयासले विज्ञापन कर, घरजग्गा कर र बहाल करमा उल्लेख्य सुधार भएको छ । यो वर्षको पहिलो ११ महिनामा महानगरपालिकामा विज्ञापन कर बापत ८ करोड ६४ लाख ९६ हजार ३ सय ३२ रुपैयाँ संकलन भएको छ । त्यस्तै, घर बहाल कर तर्फ महानगरपालिकाले यस वर्ष १५ करोड २५ लाख ८९ हजार २८ रुपैयाँ संकलन गरेको छ । यी सबै शीर्षकहरुमा महानगरले लक्ष्यभन्दा बढी प्रगति हाँसिल गरिसकेको छ ।

तर, महानगरपालिकाको अन्य शीर्षकहरुमा यति धेरै प्रगति हुँदा पनि मनोरञ्जन कर, सवारी कर लगायतका केही शीर्षकमा भने करको प्रगति शुन्यप्रायः रहेको छ । यो वर्ष मनोरञ्जक कर एक रुपैयाँ पनि उठेन। त्यस्तै, महानगरभित्र गुड्ने रिक्सा ठेलामाथि लगाईने कर बापत यो वर्ष महानगरपालिकाले जम्मा ८ सय ९५ रुपैयाँ प्राप्त गर्यो । महानगरभित्र व्यानर अहिले प्रतिबन्ध लगाईएकोले यो शीर्षकमा पनि शुन्य शुल्क उठेको छ । सवारी कर बापत २० लाख ४५ हजार ४ सय ३४ रुपैयाँ संकलन भएको छ। 

यसरी माथिका तथ्यहरुलाई आधार मान्दा काठमाडौं महानगरपालिका मनोरञ्जन कर, सवारी कर, लगायतका शीर्षकहरुमा कर उठाउन एकदमै कमजोर रहेको देखिएको छ। महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि मनोरञ्जन करलाई सुधार गर्नको लागि अनेक प्रयास गरेको थियो। सो समयमा महानगरपालिका भित्रको राजश्व विभागले घर बहाल कर मात्रै नभएर विज्ञापन कर, मनोरञ्जन कर, सवारी कर, व्यवसाय कर लगायत शीर्षकमा कर नतिर्ने महानगरबासी विरुद्ध कडा रुपमा प्रस्तुत हुने भन्दै सबैलार्इ समयमा नै कर तिर्न आग्रह गरी पत्र सरोकारवालालार्इ पत्र समेत काटेको थियो। उसले यसरी महानगरपालिकालाई तिर्नुपर्ने कर नतिरेको खण्डमा स्थानीय स्वायत्त शासन ऐनको दफा १ सय ६५ बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ