- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वसाधारणका लागि अत्यावश्यक पदार्थ पेट्रोलियममा नै सबैभन्दा बढी अवरोध हुँदै आएको छ । ६ वर्षमा २३ पटक अवरोध झेलेका जनतालाई दुःख दिने गरी मंगलबारबाट आन्दोलन गर्ने धम्की पम्प व्यवसायीहरूले दिएका छन् ।
निगम व्यवस्थापन, कर्मचारी र व्यवसायीका कारण उपभोक्ताले इन्धन किन्न पटकपटक दुःख बेहोर्नुपरेको छ ।
निगमले ल्याएको पेट्रोलियम जनतामा पुर्याउन प्रतिबद्धता व्यक्त गरेका डिलरले नै ६ वर्षयता १३ पटक वितरणमा अवरोध गरेका छन् । यसमध्ये पेट्रोल पम्प सञ्चालकले ६ पटक र ग्यास डिलर तथा उद्यमीले ७ पटक हडताल गरेका छन् ।
तर, व्यवसायी मात्र होइन, आयल निगमको व्यवस्थापकीय कमजोरीले ८ पटक जनताले झमेला बेहोर्नुपरेको छ । उपभोक्तालाई नगदमा पेट्रोलियम बेच्ने निगमले आफूले तिर्नुपर्ने निकाय भारतीय आयल निगमलाई उधारो नबुझाउँदा आपूर्ति पटक–पटक असहज हुँदै आएको छ ।
त्यस्तै, ३ असोज ०७२ मा नेपालमा संविधान जारी भएपछि असन्तुष्ट भारतले नाकाबन्दी गर्दा नेपाली जनताले ५ महिनासम्म सास्ती पाएका थिए ।
नेपाललाई पेट्रोलियम निर्यात गर्ने भारत, आयात गर्ने आयल निगम र वितरण गर्ने डिलरहरू जसका कारणले होस्, मार भने सर्वसाधारण उपभोक्तालाई नै पर्दै आएको छ ।
तर, यसको दीर्घकालीन समाधान खोज्न सरकारले आयल निगमको व्यवस्थापन सुधार गर्नुपर्ने र हड्ताल गर्नेलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्ने सकरोकारवालाहरूको भनाइ छ । (नयाँ पत्रिका दैनिक)